| आइतवार, माघ २७, २०८१

‘पहाड’ फिल्मको छायाङ्कनका लागि गोरखामा लोकेसन खोज्दै निर्देशक घिमिरे

निर्देशक तुलसी घिमिरेको पटकथा तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पहाड’ को छायाङ्कन गोरखामा हुने भएको छ । छायाकंनको लोकेसन खोज्न घिमिरे गोरखामा छन् । केही दिनदेखि उनी गोरखामै बसेर लोकेसन खोजी गरिरहेका छन् । स्थानीयसँग आवश्यक समन्वय र छलफल समेत उनले गरिरहेका छन् ।

उनले मंगलबार आगामी फिल्म ‘पहाड’ को औपचारिक घोषणा गरेका छन् । माघे सक्रान्तिको अवसरमा फिल्मको ‘अफिसियल टाइटल’ पनि सार्वजनिक गरिएको छ । फिल्मको कथावस्तु मानव बसोबास विहिन बनेको उच्च पहाडको रहेको बुझ्न सकिन्छ ।

घिमिरेको पटकथा र निर्देशन रहेको फिल्मलाई ओजस्वी केसीले निर्माण गर्दैछन् । थुप्रै चर्चित बलिउड फिल्म र सिरिज तथा नेपाली फिल्ममा छायाङ्कन गर्दै आइरहेका प्रमोद प्रधानको छायांकन यसमा हुनेछ ।

प्रधानले यसअघि अन्याय, तिलहरि, चिनो, दक्षिण र राँको पनि खिचेका छन् । फिल्ममा रञ्जित गजमेरको संगीत हुनेछ । रिम्पोछे लामा, थिङ एन्ड सुरेश र लामा थिङ सहनिर्माता हुनेछन् । क्रिएटिभ डिरेक्टरमा भारती घिमिरे हुनेछिन् ।

भाग्यरत्न फिल्म्सको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । १४ माघदेखि छायाङ्कन गर्ने तयारी छ । आगामी हप्ता कलाकारको लाइनअप सार्वजनिक गर्ने तयारी छ । यो फिल्मबाट घिमिरेकी कान्छी छोरी पञ्चमीले डेब्यु गर्ने पक्का भइसकेको छ ।

फिल्मका कलाकारमा अरुण र पञ्चमीसहित मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापाले साइन गरिसकेका छन् । प्रियंका कार्कीले पनि फिल्म गर्ने चर्चा छ । यो फिल्मले युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रित्तिन्छ र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु चित्रण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्