| शनिबार, बैशाख ८, २०८१

पुराना श्रष्टालाई सम्मान, नयाँलाई प्रोत्साहत गर्नुपर्नेमा जोड

गोरखामा पछिल्लो समय साहित्यिक गतिविधिमा कमी आएकोप्रति साहित्यप्रेमीहरुले चिन्ता ब्यक्त गरेका छन् । गोरखा क्याम्पसको नेपाली बिभागले आयोजना गरेको ‘गोरखा जिल्लाको साहित्यिक गतिविधि : एक सिँहावलोकन’ बिषयक कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पुराना श्रष्टालाई सम्मान र नयाँ श्रष्टालाई प्रोत्साहत गर्न साहित्यिक गतिविधिलाई तिब्रता दिनुपर्ने सुुझाव दिएका थिए ।

राज्यले कला साहित्य क्षेत्रलाई उचित संबोधन गर्न नसक्दा यो क्षेत्र माथि उठ्न नसकेको सो कार्यक्रमका बक्ताहरुको तर्क छ ।

कार्यक्रमको उद्घाटन गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले कला साहित्य समाजको ऐना भएकाले यसको बिकासबिना समाज अघि बढ्न नसक्ने दाबी गरे । गोरखा ऐतिहासिक एवं पर्यटकीय नगरी भएकाले साहित्यको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने मेयर पन्तको भनाई छ ।

साहित्यिक क्षेत्रकोे प्रवद्र्धनका लागि आवश्यक बजेट उपलब्ध गराउन पनि गोरखा नगरपालिका तयार रहेको उनले बताए । सो अबसरमा गोरखा क्याम्पसलाई साहित्यिक गतिविधि सञ्चालनको लागि एकलाख रुपैयाँ उपलब्ध गराउने नगरप्रमुख पन्तले घोषणा गरे । साहित्य संगमलगायत अन्य संघसस्थाको लागि पनि प्रस्तावका आधारमा बजेट उपलब्ध गराउने गोरखा नगरपालिकाले जनाएको छ ।

सो अबसरमा बोल्दै बरिष्ठ समालोचक राजेन्द्र सुबेदीले गुणात्मक साहित्य लेखनीमा जोड दिन गोरखाका स्रष्टाहरुलाई आग्रह गरे ।

कार्यक्रममा गोरखा क्याम्पसका उपप्राध्यापक एवं नेपाल भाषा शिक्षण समाजका सदस्य ऋषि खनालले ‘गोरखा जिल्लाको साहित्यिक गतिविधिः एक सिंहालोकन’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

आठपृष्ठ लामो उक्त कार्यपत्रमा गोरखा जिल्लाको साहित्यिक इतिहासदेखि हालसम्मका सम्पूर्ण गतिविधि समेटिएको छ । उक्त कार्यपत्र माथि समिक्षक सीताराम अधिकारी र डा राजुबाबु श्रेष्ठले टिप्पणी गरेका थिए ।

गोरखा क्याम्पसका प्रमुख बिकासकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ अध्यक्ष रामकुमार मगर, गोरखा क्यापसका उपप्राध्याक यदु अधिकारी, लिगलिग साहित्य समाजका अध्यक्ष सुरेन्द्र देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्नो सिर्जना समेत सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्