| बुधबार, फाल्गुन १९, २०७७

editorial

सांस्कृतिक सम्पदा संरक्षण गर

भनिन्छ, संस्कृति नासिए सभ्यता नासिन्छ । विकासको दुश्प्रभाव अहिले सबैभन्दा धेरै संस्कृतिमा परेको छ । जव गाउँमा विकास प्रवेश गर्छ, तब गाउँका रीतिथिति, चालचलन, मेलापर्व, रहनसहन, भेषभूषा, संस्कार, संस्कृति, बाजागाजा सबै नासिन्छन् ।
सांस्कृतिक तथा धार्मिक धरोहरका रुपमा रहेका गाउँका ढुंगेधारा, पाटी, पौवा, ठाँटी, चौर, चौतारा अहिले नासिँदै गएका छन् । किल्ला, गढी, कोटहरु पनि नासिँदै छन् ।
अहिले नेपालमा स्थानीय, प्रदेश र संघ सरकार छ । सबै सरकारले प्राचीन सम्पदाहरुको जगेर्ना गर्ने पहल गर्नुपर्छ ।
प्रसंग गोरखाको धावामा चौतारा नासिए भन्ने हो ।
साबिक धावा गाविसका करिब करिब १५ वटा चौतारा नासिए, मासिए । हालैको पछिल्लो उदाहरणस्वरुप बाणागाउँका दुई जनाले दुईवटा चौतारा फाँडेर घर बनाएको देख्न सकिन्छ ।
चौतारा फाँड्नेहरु भन्छन्, ‘पछि मानवीय क्षति हुनु भन्दा अहिले नै क्षति न्यूनिकरण गर्नु वुद्धिमानी हो । त्यसैले पछि हाँगा भाँचिएर घर क्षति गर्नुभन्दा, मान्छेलाई चोटपटक लाग्नु भन्दा अहिले नै हटाउनु बेश हुन्छ भनेर हटाइएको हो ।’

तर स्थानीय भन्छन्, ‘एउटा होइन, दुईटा होइन, लगातार चौतारा फाँडिएका छन् । यदि संरक्षणको पहल थालिएन भने भीमसेनथापा गाउँपालिका वडा नं. ४ साबिक धावा गाविस चौताराबिहिन हुनेछ । त्यसैले यसलाई कडाइका साथ रोक्नुपर्छ ।’ यसमा व्यक्तिगत पहलले मात्र पुग्दैन ।
व्यक्ति पनि सचेत हुनुपर्छ, सजग हुनुपर्छ । अझ स्थानीय सरकारको भूमिका धेरै आवश्यक छ । स्थानीय सरकारको पहलमा स्थानीय स्तरको सम्पदा जगेर्ना होओस् ।

प्रतिक्रिया दिनुहोस्