| बिहिबार, अशोज ८, २०७७

पोखरा विश्वविद्यालयमा चट्टान र सुरुङ विषयको पढाइ शुरु

त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ । सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ शुरु गरिएको हो । 

कोरोना जोखिमका कारण हाललाई सोमबारदेखि भर्चुअल विधिबाट अध्ययन/अध्यापन शुरु गरिएको छ । सो कार्यक्रम दुई वर्षे कोर्षको हुनेछ । यसअघि गत वैशाख १५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारी रहे पनि बन्दाबन्दीका कारण ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अगामी असोज, कात्तिक र मङ्सिरमा सैद्धान्तिक कक्षा सञ्चालनपछि प्रयोगात्मक कक्षा शुरु हुनेछ ।

इञ्जिीनियरिङ अध्ययन संस्थानका डीन डा.शशीधरराम जोशीले राष्ट्रको आवश्यकता र मागका आधारमा नयाँ नयाँ कोर्ष शुरु गर्दै जाने बताए । उनले पहिलो ब्याचका विद्यार्थीलाई शुभकामना दिँदै देशले खोजेको जस्तो दक्ष जनशक्ति उत्पादन हुने विश्वास लिए ।  चट्टान तथा सुरुङ इञ्जिीनियरिङको जनशक्तिको अहिले देशभित्र माग उच्च रहेको बताउँदै उनले भने, “सुरुङमार्ग निर्माणका कतिपय योजना रहे पनि जनशक्ति अभावमा ती योजना आशातीतरुपमा अघि बढ्न सकेका छैनन्, देशभित्रै दक्ष जनशक्तिको उत्पादनमा यहीको शिक्षाले सघाउने छ ।” 

प्रतिक्रिया दिनुहोस्