| शनिबार, बैशाख ८, २०८१

तनहुँमा दूध, मासु र अण्डा मागभन्दा बढी उत्पादन

तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ। पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ।

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिएका छन्। ‘जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ’, डा श्रेष्ठले भने।

डा श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ। आव २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५२ लाख ५७ हजार गोटा अण्डा र चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भएको थियो।

जिल्लामा २९ हजार ४१९ मेट्रिक टन दूधको माग भए पनि मागभन्दा २१ हजार २६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ। चार हजार ५२६ मेट्रिक टन मासुको माग भए पनि १६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ भने एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग भए पनि सात लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ।

विज्ञ केन्द्रका अनुसार तनहुँमा उत्पादित दूधमा भैँसीको योगदान बढी रहेको छ। जिल्लामा एक लाख ४० हजार ७४७ भैँसी, ९६ हजार ६०८ गाईपालन गरिएको छ। त्यस्तै ८९३ भेडा, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५८२ कुखुरा, एक हजार ३८२ हाँस, ७९ हजार १८० बङ्गुरपालन गरिएको छ।

जिल्लामा १९४ गाईफार्म, ६८ भैँसी, २९३ बाख्रा, ९८ बङ्गुर, २४२ कुखुरा र ४६ माछाफार्म दर्ता भएर सञ्चालित छन्। युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायत काम विज्ञ केन्द्रले गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्