| शनिबार, कार्तिक ८, २०७७

बहराइनका राजकुमारद्वारा शनिबार लुबुचे आरोहण, मंगलबार मनास्लु आइपुग्ने

 

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले शनिबार सोलुखुम्बु जिल्लाको लुबुचे हिमाल आरोहण गरेका छन् । छ हजार एकसय १९ मिटर अग्लो लुबुचे बिहान आठ बजेर ५० मिनेट जाँदा आरोहण गरेका हुन् ।

आरोहण टोलीमा बहराइनका शाही परिबार, सुरक्षा टोली, नेपाल तथा हल्याण्डका आराहण गाइडसहित २५ जना रहेका सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्वा शेर्पाले जानकारी दिए ।

सो टोली ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मंगलबार गोरखातर्फ जाने शेर्पाले बताए । ‘आज काठमाडौं आइपुग्नुहुन्छ । दुई दिन आराम गरेपछि मंगलबार हेलिकोप्टरमार्फत सामागाउँ पुग्नुहुन्छ’, शेर्पाले भने, ‘त्यसपछि अक्टुवर १५ देखि २० तारिखभित्र मनास्लु आरोहण गरिसक्ने कार्यक्रम छ ।’

मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एकसाताअघि नै मनास्लु आधार शिविर पुगिसकेको छ । टोलीले पहिलो आधार शिविर र दोस्रो आधार शिविर तयार गरिसकेको शेर्पाले जानकारी दिए । ‘पहिलो र दोस्रो क्याम्प बनाउने, बाटो बनाउने लगायतका काम सम्पन्न भइसकेको छ’, कार्यकारी निर्देशक शेर्पाले भने ।

राजकुमारको आरोहण टोलीलाई हल्याण्डका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक अर्नाल थ्रेस्टरले गाइड गर्नेछन् । टिमको नेतृत्व २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पाले गर्नेछन् भने विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेका छाङदावा शेर्पा, कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पाले पनि उनको टिमलाई साथ दिने सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्