| मङ्लबार, बैशाख ११, २०८१

छेकम्पारमा प्राचीन सामग्री खोज्ने शंकास्पद टोलीको बिगबिगी

प्राचीन सामग्री खोज्ने शंकास्पद टोली गाउँ चहार्न थालेपछि चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा त्रसित भएका छन् ।

बिगत १५ दिनदेखि शंकास्पद टोली घरघरै चाहार्न थालेपछि गाउँले त्रसित भएका वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
‘वौद्धबाट हेलिकोप्टर चार्टर गरी दुई जना शंकास्पद व्यापारी आएका छन् । तपाईँको घरमा पुराना सामान छन् ? भन्दै निलेदेखि छेकमसम्म सबै गाउँको घरघर चाहारि हिडेका छन्’, उनले भने, ‘को हुन्, कस्ता खालका मान्छे हुन्, के नियत राखेर आएका हुन् ? नचिनेका मान्छे यसरी घरघरमा छिर्दा गाउँले डराएका छन् ।’
सीमा क्षेत्र भएकाले छेकम्पारलाई निषेधित क्षेत्र मानिन्छ । निषेधित क्षेत्रमा विशेष अबस्थामा मात्र हेलिकोप्टर चार्टर गर्न पाइने सरकारी व्यवस्था छ तर व्यापारीले बिना समन्वय हेलिकोप्टर चार्टर गरेर छेकम्पार पुगेको स्थानीयबासीको गुनासो छ ।


संवेदनशील ठाउँमा भएको शंकास्पद गतिविधिका बारेमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नआएको वडाअध्यक्ष लामाले गुनासो गरे । ‘मैले यस बिषयमा सिडियोसाबलाई जानकारी गराएको थिएँ ।

उहाँले प्रहरीलाई बुझ्न लगाउँछु भन्नु भएको थियो, तर प्रहरीले पनि वास्ता गरेको छैन’, उनले भने, ‘अब केहीदिनपछि उनीहरुलाई लिनका लागि हेलिकोप्टर आउँछ भन्ने हल्ला छ । के कस्ता सामग्री संकलन गरेका छन् । हेलिकोप्टरमा लिएर जाने भएका छन् ।’
उनीहरुको बिषयमा बुझ्न जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । ‘मैले त्यहाँ के भएको हो बुझ्न एसपीसाबलाई भनेको थिएँ । त्यसपछि के रिपोर्ट आएको बुझ्न पाएको छैन, म बुझुँला’, प्रजिअ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्