| शनिबार, बैशाख ८, २०८१

हाट बजार प्रसारको खाँचो

तराईतिर जताततै हाटबजार लाग्छ । कतै आइतबारे हाट, कतै सोमबारे, कतै मंगलबारे, बुधबारे, बिहिबारे, शुकबारे, शनिश्चरे इत्यादि ।
तर पहाडमा हाटको संस्कृति कम छ ।
गोरखामा केहीबर्षअघि फाट्टफुट्ट हाटबजार खुले । सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाइमा, प्रोत्साहनमा, ठेट शव्दमा उक्साहटमा विभिन्न ठाउँठाउँमा, बजार किनारमा हाटबजार खुले । उनीहरुको सहयोग कमी हुन थालेपछि स्थानीयबासीमा लगावको कमी हुनथाल्यो । अन्ततः गले । बन्द भए सवै ।
शहीद लखन गाउँपालिकाको रामशाह घाट(आँबुखैरेनीनेर) बिगत बर्षदेखि सञ्चालन भएको हाटले भने जीवन्तता पाएको छ । सहरनजिकको हाट भएकाले हुनसक्छ, ग्राहक पर्याप्त पाएको छ । उत्पादनले सजिलै बजार पाउने भएपछि उत्पादक(किसान)हरु उत्साहित छन् ।
हाटमा कृषि सामग्री पाइन्छ ।

विशेषगरी तरकारीजन्य सामान पाइन्छ । यहाँ रैथाने(लोकल) खाद्य सामग्री उपलब्ध हुन्छ । ताजा सामग्री, सुपथ मूल्यमा पाइने भएपछि जो कोही किन्न आउनु स्वभाविक हो । यति भएपछि किसान पनि खुशी, ग्राहक पनि खुशी ।
गाउँका किसानहरु यसै आफ्नै वा छिमेकको बारीको ताजा तरकारीजन्य खाद्यबस्तु खान्छन् । बजार नजिक हाट खुलेकाले खैरेनीका बासिन्दा पनि हाटमा आकर्षित छन् ।
यसको सिको गरेर गोरखा बजार वा मुग्लिन, डुम्रे बजार, पालुङ्टार बजार, आरुघाट बजारलाई लक्षित गरी यसरी नै हाट बजार सञ्चालन गर्नुपर्छ ।

किसानलाई प्रोत्साहित गर्नुपर्छ । उपभोक्त र किसानलाई एकठाम राखेर अभिमुखीकरण गर्नुपर्छ ।
खुलेका हाटलाई लहडवाजीको रुपमा नभै जीवन्त राख्नुपर्छ । यसका लागि सरकारी निकायसंग पनि बजेट हुनेगर्छ । त्यसको राम्ररी परिचालन गर्नुपर्छ ।

मन्त्रालय, कृषिज्ञान केन्द्र, पशुसेवा विज्ञ केन्द्र आदिबाट पनि सहयोग जुटाएर हाटबजार व्यवस्थित बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्