| बुधबार, फाल्गुन १९, २०७७

गोरखा २ मा अब कांग्रेस कार्यकर्ताले रुख बाहेक अन्यत्र भोट हाल्नुपर्दैन : कांग्रेस नेता पाण्डे

कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले यस अघिको निर्वाचनमा बाबुराम भट्टराईलाई भोट हाल्नुपर्दा कांग्रेस कार्यकर्ता दुःखी भएको बताएका छन् ।

एक साता यता गोरखाको क्षेत्र नम्बर २ को बिभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी बनेर फर्किएका उनले प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भने ‘अब हुने जुनसुकै निर्वाचमा गोरखा क्षेत्र नम्बर २ मा कांग्रेसका कार्यकर्ताले रुख बाहेक अन्य चिन्हमा भोट हाल्नु पर्दैन, कांग्रेसका कार्यकर्ताले अन्यत्र भोट हाल्नुपर्दा मन दुखेको छ’ उनले भने ।


केही समय अघि कांग्रेसलाई म्यूजियममा राख्नुपर्छ भन्ने बाबुराम भट्टराई अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै हिँडेको भन्दै उनले भने ‘कांग्रेसलाई सत्ताको लोभ छैन, कसैले सरकारमा जा भन्दा जाने, नजा भन्दा नजाने होईन ।’
संसद बिघटनको दोष केपी ओलीलाई मात्र दिन नमिल्ने बताएका छन् । पत्रकार सम्मेलनमा नेता पाण्डेले भने ‘संसद बिघटन नेकपा नेतृत्वको प्रधानमन्त्री केपी ओलीले गरेका हुन्, प्रधानमन्त्री बनाउन प्रचण्ड माधबको भुमिका भएपछि संसद बिघटनमा पनि उनीहरु साक्षि हुन् ।’
प्रधानमन्त्री ओलीको निरङ्कुशता, भष्ट्राचार, बिरुद्ध कांग्रेसले लामो समय देखि निरन्तर आन्दोलन गरिरहेको बताउँदै केन्द्रिय सदस्य पाण्डेले आफु माथि प्रहार भएपछि मात्रै प्रचण्ड–माधव पक्षधर झस्किएको बताए ।

‘केपी ओलीको असंवैधानीक कदम बिरुद्ध अहिले आन्दोलन गर्नेहरु पुस ५ अघि कहाँ थिए’ केन्द्रिय सदस्य पाण्डेले भने ‘आफु माथि प्रहार भएपछि मात्रै झस्कने, त्यसैले संसद बिघटनको मतियार सिङ्गो नेकपा हो ।’
नेकपाको दुबै गुट कांग्रेसलाई साथ लिन तछाड मछाड गरिरहेको बताउँदै उनले तत्काल कुनै पनि पक्षसँग सहकार्य गर्नु कांग्रेसलाई आवश्यक नरहेको बताए । ‘कांग्रेसले यस अघिका आन्दोलन पनि एक्लैले नेतृत्व गरेको हो’ उनले भने ।
संसद बिघटनको मुद्धा सर्वोच्च अदालतमा पुगेकाले त्यसको अन्तिम ब्याख्या गर्ने अधिकार अदालतकै भएको उनले बताए । ‘संसद बिघटन संविधान बिपरित हो भन्ने कांग्रेसको ठहर छ, तर अदालतले गरेको निर्णय कांग्रेसले मान्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्