| बिहिबार, फाल्गुन २०, २०७७

कोरोनाको खोप गोरखामा आइपुग्यो, भोलिदेखि खोप लगाउन सुरु


बिगत एकबर्षदेखि संत्रास फैलाइरहेको कोभिड १९ (कोरोना महामारी) नियन्त्रणका लागि भोलि(बुधबार)देखि खोप लगाइने भएको छ । भोलि बुधबार) पहिलो दिन अग्रपंक्तिमा खटिने, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालकहरुलाई गोरखा अस्पतालमा बिहान १० बजे खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।


गोरखा अस्पताल, स्वास्थ्य कार्यालय गोरखा, सबै पालिकाका सरकारी, गैरसरकारी संस्थाका तथा नीजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक गरी पहिलो चरणमा १६१९ जनालाई गोरखा अस्पताल खोपकेन्द्रमा खोप लगाइने कार्यालयले जनाएको छ ।


खोप कार्यक्रमको प्रमुख जिल्ला अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
बुधबारदेखि आइतबार पाँचदिनसम्म खोप लगाइने कार्यालयले जनाएको छ ।
पहिलो दिन बुधबार र बिहिबार गोरखा नगरपालिका, शहीदलखन गाउँपालिका र भीमसेनथापा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई लगाइनेछ । गोरखा नगरपालिकामा बुधबार १४६ र बिहिबार १४७ जनालाई कोरोनाको खोप लगाइने कार्यक्रम तय भएको छ । त्यस्तै भीमसेनथापा गाउँपालिकामा बुधबार ५० जना र बिहिबार ५८ जनालाई तथा शहीद लखन गाउँपालिकामा बुधबार ५५ र बिहिबार ५८ जनालाई खोप लगाउने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
त्यस्तै पालुङटार नगरपालिकामा शुक्रबार १११ जना र आइतबार एकसय जनालाई खोप लगाइनेछ । गण्डकी गाउँपालिकामा शनिबार ६५ जना, आइतबार ६६ जनालाई, सिरानचोक गाउँपालिकामा शनिबार ७० र आइतबार ६५ जनालाई, धार्चे गाउँपालिकामा शुक्रबार र शनिबार ६५÷६५ जनालाई, आरुघाट गाउँपालिकामा शुक्रबार र शनिबार ६९÷६९ जनालाई खोप लगाउने तयारी गरिएको छ ।
त्यस्तै बारपाकसुलीकोट गाउँपालिकामा शुक्रबार ६० जना र आइतबार ५५ जनालाई खोप लगाइनेछ । अजीरकोट गाउँपालिकामा शुक्रबार ५० जना र शनिबार ५५ जनालाई खोप लगाइनेछ । चुमनुब्री गाउँपालिकामा शनिबार ४४ जना र आइतबार ७५ जनालाई खोप लगाउने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
पहिलो चरणमा खोप लगाइएका उनीहरुलाई पुन एक महिनापछि दोस्रो चरणको खोप लगाइने कार्यक्रम तय भएको छ ।


कोरोनाको खोप लगाउनका लागि अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ ।


गोरखाका लागि पहिलो चरणमा चारहजार १४ मात्रा (दुईसय एक भाइल) खोप मंगलबार आइपुगेको छ । दुईदेखि आठडिग्री सेल्सियससम्मको तापक्रम कायम गरी विशेष प्रकारको रेफ्रिजिरेटर भ्यानबाट खोप ल्याइएको थियो ।


भारत सरकारले नेपाल सरकारलाई निशुल्क पठाएको सो खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जिल्ला विपद व्यवस्थापन समितिलाई मंगलबार हस्तान्तरण गरेको हो । केन्द्रका कोल्डचेन निरीक्षक हिमलाल सुवेदीले सो खोप प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई हस्तान्तरण गरेका हुन् । सो खोप प्रजिअ भट्टराईले स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीलाई हस्तान्तरण गरेका थिए ।


खोप लगाउँदा कसैलाई छालाको एलर्जी, डावर आउने, सास फेर्न गाह्रो हुने लगायतका सामान्य असर पनि देखिन सक्छ । त्यसैले खोप लगाएको आधाघण्टासम्म अस्पतालमै रहन आग्रह गरिएको छ । आधाघण्टासम्म कुनै असर नदेखिए घर पठाउने र असर देखिए पोखरा पठाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । त्यसका लागि स्वास्थ्यकर्मी, नेपाली सेना, प्रहरी सम्मिलित टिम सतर्क अबस्थामा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्