| बुधबार, फाल्गुन १९, २०७७

गोरखामा ११६ जनालाई कोरोनाविरुद्धको खोप दिइयो, नकारात्मक असर देखिएन


गोरखामा बुधबार एकैदिन ११६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजे मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपाललाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको थियो ।


गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पहिलो खोप लगाउने मेसु भुर्तेललाई खोपकार्ड हस्तान्तरण गरेर र प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले खोप कार्यकर्तालाई सिरिञ्ज हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो ।


बुधबार पहिलो दिन गोरखा नगरपालिकाका ३७ जना, शहीद लखन गाउँपालिकाका ४३ जना र भीमसेनथापा गाउँपालिकाका ३६ जनालाई खोप लगाइएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । उनीहरुमध्य ८९ जना महिला र २७ जना पुरुष रहेका उनले बताए ।


पहिलो दिन बुधबार ५८ जना स्वास्थ्यकर्मी, ५१ जना महिला स्वास्थ्य स्वयंसेविका, पाँचजना कार्यालय सहयोगी र दुईजना एम्बुलेन्स चालकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।


पहिलो दिन खोप लगाएकाहरु कसैलाई पनि कुनै नराम्रो असर नभएको सूचना अधिकारी ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्