| बुधबार, फाल्गुन १९, २०७७

जंगबहादुरको सत्तामाथि धावा बोल्ने लखन थापा

जिवन आले

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए,
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।
कवि भूपी शेरचनको यो शब्द सिर्जनाले देश र जनहितका निम्ति बलिदानी दिने महान व्यक्तिहरुप्रति सम्मान प्रदान गरेको छ । साँच्चै नै देश हितका निम्ति प्राण उत्सर्ग गर्ने व्यक्तिहरुको योगदानले नै त्यो देश र त्यहाँका नागरिकहरुको सुनौलो भविष्य कोरेको हुन्छ । त्यसरी राष्ट्र र जनताप्रति समर्पित भई जीउ ज्यान अर्पण गर्ने शहीदहरुप्रति सबैको शिर श्रद्धाले झुक्छ ।

नेपालमा निरङ्कुश शासन व्यवस्थाको अन्त्य गरी जनमुखी प्रजातान्त्रिक शासन व्यवस्था स्थापनाको निम्ति संघर्ष गर्ने क्रममा विभिन्न कालखण्डमा धेरै नेपाली वीर वीरङ्नाहरुले आफ्नो अमूल्य प्राण गुमाएका छन् । त्यसरी देश हितमा जीउ(ज्यान अर्पण गर्नेहरुमध्ये राणा शासनको विरोध गरेको कारणले वि.सं.१९३३ मा शहादत प्राप्त गर्ने व्यक्तिहरु प्रजातान्त्रिक आन्दोलनका अग्रणी शहीदहरु हुन् । त्यतिबेला फाँसीको डोरीमा झुण्ड्याइएका सपुतहरुमध्ये राणा शासनविरुद्ध जनविद्रोहको नेतृत्व गर्ने लखन थापा मगरलाई नेपाल सरकारले वि.संं. २०७२ असोज ३ गते नेपालको प्रथम शहीदको उपाधि प्रदान गरी सम्मान गरेको छ । तर, अझैसम्म पनि उनीसँगै मारिएका जैसिङ चुमीलगायतका अन्य शहीदहरु इतिहासको ओझेलमा परेका छन् ।
को हुन् लखन थापा मगर ?


वि.सं. १८९१ मा हालको गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७, काहुले भङ्गार, बुंकोटमा जन्मेका लखन थापा मगरको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर थियो । उनले राणा शासनविरुद्ध जनविद्रोह सञ्चालनका क्रममा मनकामना देवीको पहिलो पूजारी सिद्ध लखन थापाको प्रसिद्धिलाई उपयोग गरी विद्रोहमा ठूलो जनसमर्थन जुटाउने रणनीतिका साथ ‘लखन’ भन्ने छद्म नाम ग्रहण गरेका थिए ।


वि.सं. १९११ मा नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन) मा भर्ना भएका लखन थापा मगर ई.संं. १८५७ को भारतीय स्वन्त्रता संग्राममा सिपाही विद्रोह दबाउन भारतको लखनउ पुगेका थिए (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण वि.सं. २०७०, पृ. ८८) । त्यतिबेला जंगबहादुरको निणर्य बमोजिम भारतको सिपाही विद्रोह दवाउनलाई नेपालले सैन्य सहयोग गरेको थियो । उक्त सिपाही विद्रोह दबाउन नेपाली सेनाका २५ वटा पल्टन जंगबहादुरकै नेतृत्वमा भारत जाँदा लखन थापा पनि बाध्य भएर लखनउ गएका थिए ।


नेपाली सेनामा कार्यरत रहँदा उनी तत्कालीन युवराज त्रैलोक्य बिक्रम शाहका अंगरक्षक थिए (नेपालको सैनिक इतिहास, भाग २, वि.सं. २०६५, पृ. ३६४) । वि.सं. १९२५ मा नेपाली सेनाको कप्तान पदमा पुगेका लखन थापा मगरले वि.सं. १९२७ सालमा तीन महिनाको घरबिदा लेखाएर नेपाली सेनाको जागिर छाडे ।


सेनाको जागिर छाडेपछि उनले राणाशासन विरुद्ध जनसंगठन गरी पहिलो जनविद्रोहको नेतृत्व गरे (मुक्ता श्रेष्ठ, नवयुवा, वर्ष १, अंक १०, वि.सं. २०५३ माघ) । उनलाई जंगबहादुरको आदेशमा वि.सं. १९३३ मा हालको शहिद लखन गाउँपालिका, वडा नं. ७ काहुले भङ्गारमा निर्मित विद्रोही किल्ला परिसरभित्रको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।


निरङ्कुश राणाशासनविरुद्ध पहिलो जनविद्रोह


वि.सं. १९२७ मा नेपाली सेनाको जागिर छाडेपछि लखन थापा मगरले जंगबहादुरको सरकार र राणाशासनविरुद्ध जनताहरुलाई संगठित गरे । उनले ‘म सिद्ध लखन थापाको अवतार हुँ । जंगबहादुरले म्लेच्छ (अंग्रेज) लाई नेपाल बेच्यो, दुनियाँ (नेपाली जनता) लाई त्राही त्राही बनाइरहेको छ । मलाई मनकामना भगवतीले जंगबहादुर राणालाई हटाएर नेपालमा सत्य युग (प्रजातान्त्रिक व्यवस्था) फिराउ भनी आज्ञा दिनुभएको छ, लौ भाइ हो तयार होऔं’ भनी जनसंगठन गरेर जनतालाई राजनैतिक प्रशिक्षण प्रदान गरे (मुक्ता श्रेष्ठ, नवयुवा, वर्ष १, अंक १०, वि.सं. २०५३ माघ) ।


त्यस बखतको रुढीवादी समाजमा धर्मकै आड लिएर संगठन गर्न सके चाँडै संगठित हुन सकिन्छ भन्ने उद्देश्यले लखनले धर्म र देवी देवताका नामबाट जनचेतना जगाएर संगठन खडा गरेका थिए (भुवनलाल प्रधान, नेपालको जनक्रान्ति २००७, सन् २०१४, पृ. १४) ।


लखन थापाको नेतृत्वमा भएको राणाशासन विरोधी अभियानमा करिव दुइ हजार भूतपूृर्व सैनिक र युवाहरु संगठित भएका थिए । उनीहरुलाई केही हातहतियारको व्यवस्था गरी तालिमको समेत व्यवस्था गरिएको थियो । (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण वि.सं.२०७०, पृ. ८८) ।


राणाविरोधी अभियानमा सक्रिय भई संगठित भएका व्यक्तिहरु र स्थानीय मानिसहरुको सहयोगमा लखन थापाले वि.सं. १९२७ तिर विद्रोही किल्ला निर्माण गरे । आफ्नै पुख्र्यौली थलो काहुले भङर, बुंकोटमा निर्मित उक्त किल्ला परिसर युद्ध किल्ला वा बलियो गढीको स्वरुपमा बनाइएको थियो (महेशचन्द्र रेग्मी, रेग्मी रिसर्च सेरिज, वर्ष १२, अंक २, सन् १९८० डिसेम्वर, पृ. ७४ ) ।


विद्रोही किल्ला परिसरभित्र मनकामनाको मन्दिर, पानी पोखरी, ढुङ्गेधारा, परेड मैदान लगायतका भौतिक संरचनाहरु निर्माण गरिएका थिए (हाल शहिद लखन गाउँपालिका, वडा नं. ७, काहुलेका बर्ष ८५ का रत्न बहादुर चुमी रानामगर सँग वि.सं. २०७७ माघ ५ गते गरिएको कुराकानीमा आधारित) । किल्ला परिसरमा लखनले पाँचतले घर बनाई मनकामनाको पूजापाठ समेत चलाएका थिए (प्राचीन नेपाल, नेपाल देशको इतिहास संग्रह, वि.सं. २०३१ वैशाख, अंक २७) । यसरी जनसंगठनलाई बलियो बनाउन लखनले धर्मको प्रचार गरी मानिसहरुलाई राजनैतिक प्रशिक्षण प्रदान गर्दथे । यसको उद्देश्य जंगबहादुर राणाको सरकार विरुद्ध सशक्त जनविद्रोह सञ्चालन गर्ने भन्ने थियो ।


जंगबहादुर राणाको निरङ्कुश सरकार र जहानियाँ शासनको विरोधमा लखन थापाले राजनैतिक दस्तावेजसमेत तयार पारका थिए । उक्त राजनैतिक घोषणापत्रमा जंगबहादुर राणाले धर्म, नियम र कानुन बमोजिम शासन सञ्चालन नगरेको हुँदा उनलाई पदच्यूत गरी धर्म, नियम र कानुन बमोजिम शासन व्यवस्था सञ्चालन गरिने विषय उल्लेख गरिएको थियो (चिरञ्जीवी वाग्ले, मधुपर्क, लखन थापाः केही टिपोट, वि.सं.२०३३, पृ. ८९(९०) ।


राणाशासन विरुद्ध वि.सं. १९३२ चैतमा लखन थापा मगरको नेतृत्वमा जनविद्रोह भएको थियो (भुवनलाल प्रधान, नेपालको जनक्रान्ति २००७, सन २०१४ मे, पृ. १४) । यो विद्रोह राणातन्त्रको विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण वि.सं. २०७०, पृ. ८९) ।


तत्कालीन समयमा विद्रोही जनताहरुले लखन थापालाई प्रधानमन्त्री घोषणा गरी जंगबहादुरको सरकार विरुद्ध पहिलो पटक वैकल्पिक सत्ता स्थापना गरेका थिए (मुक्ता श्रेष्ठ, नवयुवा, वर्ष १, अंक १०, वि.सं. २०५३ माघ) ।


लखन थापाको नेतृत्वमा गठन भएको जनसरकारमा जहरे (जयसिंह) चुमीलाई सेनापति (जनरल), विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङ्लाई कणर्ेल पदको जिम्मेवारी तोकिएको थियो (महेशचन्द्र रेग्मी, रेग्मी रिसर्च सेरिज, वर्ष १२, अंक ५, सन् १९८० डिसेम्वर, पृ. ७४) । भनिन्छ सन्त ज्ञानदिलदास, सुपति गुरुङ्, अछामी मगर, अजपसिंह थापा मगर, सुकदेव गुरुङ्, कानु लम्साल, कुराल राना मगर लगायतका व्यक्तिहरुलाई पनि जनसरकारको महत्वपूणर् जिम्मेवारी प्रदान गरिएको थियो ।


विद्रोहीहरुले पश्चिम तराईको शिकार सकेर काठमाडौं फर्कँदा चन्द्रागिरीको देउराली आसपासमा घात लगाएर जंगबहादुर राणालाई मारी उनीसँगै रहेका सरकारी सेनालाई पनि हात लिइ राजधानी पुगेर लखन थापा मगरलाई राजा (प्रधानमन्त्री) बनाउने र नेपालमा सुनौलो प्रजातान्त्रिक युग ल्याउने उद्देश्य र योजना बनाएका थिए (पद्मजंग राणा, जंगबहादुरको जीवन यात्रा, वि.सं. २०७४, पृ. २८३) ।


यो विद्रोह नेपालको इतिहासमा जंगबहादुर राणाको सरकार एवं राणाशासन विरुद्ध जनस्तरबाट संगठित रुपमा गरिएको पहिलो विद्रोह थियो । जुन विद्रोहको मूल उद्देश्य निरङ्कुश, जहानियाँ राणाशासनको अन्त्य गरी नेपालमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्नु थियो । लखन थापा मगरको नेतृत्वमा भएको यो विद्रोहले नेपाली जनताहरुमा प्रजातान्त्रिक चेतनाको वीज छरी भावी पुस्ताका लागि शहादतको मार्गदर्शन समेत गर्न सक्यो । त्यसपश्चात् प्रजातान्त्रिक शासन व्यवस्थाको लागि नेपाली जनताले गरेको संघर्ष र शहादतले लोकान्त्रिक शासन प्रणाली स्थापना गर्ने सफलता प्राप्त गर्न सक्यो ।


वि.सं. १९०३ को कोतपर्व पश्चात् जंगबहादुर राणा नेपालको शासन अधिकार प्राप्त गरी सर्वशक्तिमान शासक कहलिएका थिए । राणातन्त्र विरुद्ध इतिहासका विभिन्न कालखण्डहरुमा विरोध भई थुप्रै हत्याकाण्डका घटनाहरु भए । तर, ती सबै घटनाहरुलाई शहादतको मान्यता प्रदान सकिँदैन । त्यसैले सबै हत्याकाण्डमा मारिएका व्यक्तिहरुलाई शहीदको कोटीमा राख्न उपयुक्त हुँदैन ।


किनभने, कतिपय घटनाहरु व्यक्तिगत वा पारिवारीक स्वार्थ, पद र सत्ता प्राप्तिको निहित उद्देश्यले भएको पाइन्छ । त्यस्ता घटनालाई जनविद्रोह वा प्रजातान्त्रिक क्रान्तिको उपमा कदापि दिन सकिँदैन । ऐतिहासिक घटनाक्रम, तथ्य, प्रमाण र इतिहासकारहरुको मतको आधारमा वि.संं १९३२ चैतमा लखन थापा मगरको नेतृत्वमा भएको विद्रोह नै राणाशासन विरुद्धको प्रथम जनविद्रोह थियो । जुन विद्रोहको उद्देश्य राणाशासक जंगबहादुरको निरङ्कुश सरकार र जहानियाँ राणाशासन व्यवस्थाको अन्त्य गरी नेपालमा प्रजातान्त्रिक शासन प्रणाली स्थापित गर्नु थियो ।


प्रथम जनविद्रोहमाथि दमन र फाँसी


तत्कालीन समयमा गोरखाको शहीद लखन गाउँपालिका वडा नं. ७, सिउँडेपानी बुंकोटका सर्वजित थापा क्षेत्री गोरखाको प्रशासक थिए । उनले नै लखन थापाको विद्रोहबारे जंगबहादुर समक्ष उजुरी गरे (चिरञ्जीवी वाग्ले, मधुपर्क, लखन थापाः केही टिपोट, वि.सं. २०३३, पृ. ९४) ।
यसरी गोरखामा भएको जनविद्रोहबारे जानकारी प्राप्त भएपछि जंगबहादुर राणा सुरक्षा व्यवस्था मिलाएर काठमाडौं फर्किए । काठमाडौं पुगेर सवै यथार्थ जानकारी लिई उक्त विद्रोह दमन गर्न देवीदत्त पल्टनलाई गोरखा पठाए । देवीदत्त पल्टन र विद्रोहीहरुबीच गोरखामा दोहोरो भिडन्त भयो । अन्त्यमा विद्रोहीहरुलाई सरकारी सेनाले पक्राउ गर्‍यो । लखन थापासहित १२ जना मुख्य व्यक्तिहरुलाई पाता फर्काइ फलामको सिक्रीले बाँधी बाँसको पिँजडा (कोक्रा) मा राखी यातनापूर्वक काठमाडौं पुर्‍याइयो ।


काठमाडौं पुर्‍याएपछि उनीहरुलाई नेल र कोर्रा हानी यातना दिइयो । अन्त्यमा, मुख्य नेता लखन थापासहित ५ जना विद्रोहीहरुलाई झुण्ड्याएर मृत्युदण्ड दिनु भनी जंगबहादुर राणाले आदेश दिए (प्रमोद शमेशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण वि.सं. २०७०, पृ. ८८(८९) ।
त्यतिबेला लखन थापा र अन्य ६ जना गरी ७ जना विद्रोहीहरुलाई जंगबहादुरको आदेश बमोजिम रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो (पद्मजंग राणा, जंगबहादुरको जीवन यात्रा, वि.सं. २०७४, पृ. २८४) । भनिन्छ, लखनलाई छाला काढेर चुक र खुर्सानी लगाई बर्बतापूर्वक झुण्ड्याइएको थियो (शहिद लखन गाउँपालिका, वडा नं. ७ मास्कीछाप निवासी बर्ष ८७ का मिन बहादुर हुन्चिङ् थापा मगर (हाल स्वर्गीय) सँग वि.सं. २०६३ मा गरिएको कुराकानीमा आधारित) ।
लखन थापा लगायतका विद्रोहीहरुलार्ई काउलेभँगारस्थित उनीहरुकै विद्रोही किल्ला परिसरभित्र स्थापना गरिएको मनकामना मन्दिरको अगाडि रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उनीहरुलाई फासी दिइएको मितिको सम्बन्धमा वि.सं. १९३३ पुस महिना वा फागुन २ भन्ने फरक(फरक मत रहेको पाइन्छ ।


लखन थापा लगायतका विद्रोहीहरुलाई झुण्ड्याइसकेपछि राणा सरकारले विद्रोहीलाई शान्त पार्ने उद्देश्यले स्थानीय जनताहरुलाई बकस स्वरुप केही रकम पठाए । त्यतिवेला शक्तिशाली निरङ्कुश शासकको वकस अस्वीकार गर्नु जनताहरुको लागि जीउ(धनकै असुरक्षा हुन सक्थ्यो । त्यसैले उक्त बकस रकमबाट स्थानीय मानिसहरुले एउटा ठूलो घण्टी बनाई वि.सं. १९३३ माघ ८ मा गोरखा कालिका मन्दिर अगाडि लखन थापाको सम्झनामा उक्त घण्टी झुण्ड्याएका थिए (प्रा.डा. तुलसीराम वैद्य, प्रथम शहीद स्मारिका, वर्ष १, अंक १, वि.सं. २०६७ फागुन पृ. २७) ।
लखन थापाको शव सुकेर भुवाजस्तै बनी नष्ट भएको थियो भन्ने कथन छ । सम्भवतः त्यतिबेला चिसो मौसम भएको कारणले शव नसडी सुकेर गएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । हरेक बर्ष पुसको पहिलो पञ्चमीमा लखनको किल्ला नजिकै स्थानीयहरुले ‘भँगेरी पूजा’ गर्दा लखन थापा र उनीसँगै मारिएका विद्रोहीहरुलाई स्मरण गर्ने गर्दछन् । यस्ता सामाजिक तथा सांस्कृतिक प्रचलन, विभिन्न तथ्य र ऐतिहासिक घटनाक्रमहरुलाई बिचार गर्दा लखन थापालाई पुष महिनामा झुण्ड्याइएको हुन सक्ने अनुमान बढी विश्वसनीय देखिन्छ ।


प्रथम जनविद्रोहका शहीद


धेरै इतिहासकारहरुले लखन थापा मगर र अन्य ६ जना विद्रोहीहरुलाई सँगै झुण्ड्याइएको उल्लेख गरे पनि ती ६ जना वीर सपूतहरु को(को थिए भन्ने सन्दर्भमा खासै चर्चा गरिएको पाइँदैन । निरङ्कुश राणा शासनविरुद्धको पहिलो जनविद्रोहमा नै शहादत प्राप्त गरेका प्रजातान्त्रिक योद्धाहरु अझैसम्म पनि गुमनाम हुनु विडम्बनापूणर् छ ।


लखन थापा मगरको नेतृत्वमा गठन भएको जनसरकारमा जहरे (जयसिंह) चुमी राना मगर, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङ्लाई जनसेनाको महत्वपूणर् जिम्मेवारी प्रदान गरिएकाले लखन थापासँगै यी चार जना व्यक्तिहरुलाई झुण्ड्याइएको हुनुपर्छ । लखन थापासँगै अजपसिंह थापा मगर पनि पक्राउ परेका थिए (महेशचन्द्र रेग्मी, रेग्मी रिसर्च सेरिज, वर्ष १२, अंक ५, सन् १९८० डिसेम्वर, पृ. ७४) ।


त्यतिबेला जनसेनाको महत्वपूणर् जिम्मेवारीमा रहेका अछामी मगर समेत मारिएका थिए (मुक्ता श्रेष्ठ, नवयुवा, वर्ष १, पूणर्ाङ्क १०, वि.सं. २०५३ माघ) । यी तथ्यहरुलाई आधार मान्दा लखन थापा मगरसँगै जयसिंह (जहरे) चुमी राना मगर, जीतमान गुरुङ्, जुठ्या थापा मगर, विराज थापा मगर, अजपसिंह थापा मगर र अछामी मगरले प्रथम जनविद्रोहमा शहादत प्राप्त गरेको स्पष्ट हुन्छ । जुन विषय ऐतिहासिक रुपमा सान्दर्भिक, औचित्यपूणर् र तर्कयुक्त देखिन्छ । त्यसैले यी ६ जना प्रजातान्त्रिक योद्धाहरुलाई अविलम्व शहीद घोषणा गरी सम्मान गर्नु आवश्यक देखिन्छ ।
नेपालमा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ । उक्त अवसरमा वि.सं.१९९७ मा मारिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्द (ठकुरी) सँगै प्रथम जनविद्रोहमा मारिएका शहीदहरुका साथै, विभिन्न कालखण्डमा देश र जनहितका निम्ति प्राण उत्सर्ग गर्ने सबै शहीदहरुको स्मरण एवं सम्मान गर्नु अपरिहार्य छ । यसका लागि राज्यले सम्पूणर् शहीदहरुको व्यवस्थित अभिलेख राखेर उनीहरुको उचित सम्मान प्रदान गर्नु पर्दछ । शहीदहरुको सम्मान गर्नु सिङ्गो राज्य, सरकार र हामी सबै नेपालीहरुको साझा कर्तव्य हो ।


(शहीद लखन गाउँपालिका ७ काउले भँगार निवासी लेखक सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

प्रतिक्रिया दिनुहोस्