| बुधबार, फाल्गुन १९, २०७७

धार्चे पर्यटन विकास समितिले निर्माण गरेका विभिन्न संरचना अज्ञात समूहद्धारा नष्ट

धार्चे मनास्लु पर्यटन विकास समितिले निर्माण गरेको विभिन्न संरचना अज्ञात समूहले नष्ट गरेको छ । धार्चे गाउँपालिकाको विभिन्न ठाउँमा निर्माण गरेको स्तम्भ तथा होर्डिङबोर्डहरु अज्ञात समूहले नष्ट गरेको समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।
‘धार्चे डाँडामा निर्माण भएको स्तम्भ गल लगाएरै नष्ट गरेका छन् ।

अनि फेरि तल्लो मनास्लु क्षेत्र भ्रमण गर्न आउनेका लागि म्यासेडाँडा, मम्चेडाँडा, लङ्कर भञ्ज्याङ, न्याउलीखर्कमा निर्माण गरिएको होर्डिङबोर्ड पनि नष्ट गरेका रहेछन्’, गुरुङले दुख ब्यक्त गर्दै भने ।
धार्चे डाँडामा निर्माण भएको स्तम्भ कात्तिक महिनातिर नष्ट गरेको हुनसक्ने उनले अनुमान गरे । ‘भदौमा जाँदा थियो, मंसीरमा जाँदा छैन’ उनले भने, ‘धार्चे मनास्लु सबैको साझा संस्था हो । संस्थासित किन रिसाउनु ? मसित रिस भएको भए ममाथि पोखेको भए हुन्थ्यो । स्तम्भ, होर्डिङबोर्ड त सर्वसाधारणको हितका लागि बनाइएको सार्वजनिक सम्पत्ति हो ।’
भूकम्पपछि २०७३ सालमा आएको किल सिट फर यूकै नामक विदेशी संस्थाले धार्चे मनास्लु पर्यटन विकास समितिसँगको समन्वयमा स्तम्भ निर्माण गरेको थियो भने विभिन्न दाताहरुसँग सहयोग जुटाएर समितिले बिभिन्न ठाउँमा पर्यटन गाइडलाइससहितको होर्डिङबोर्ड राखेको थियो ।
‘किलसिट फर यूकेले भूकम्पपछि खानेपानीको दुख भएको गुम्दामा १७ लाख रुपैयाँ लागतमा खानेपानी आयोजना सञ्चालन गरेको थियो ।

यमगाउँमा १० लाख रुपैयाँ, भीरकुनामा सात लाख रुपैयाँ, थुमीको अर्मलामा छ लाख रुपैयाँ लागतमा खानेपानी योजना सञ्चालन गरेको बारेमा सो स्तम्भमा लेखिएको थियो’, गुरुङले भने, ‘सन् २०२२ मा फेरि आएर यस्तै सहयोग गर्ने आश्वासन दिएको थियो । अब पक्कै रिसाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्