| शुक्रबार, बैशाख ३, २०७८

चेपेखोला जलविद्युत आयोजनाको काम सुचारु

स्थानीयबासीको अवरोधका कारण अवरुद्ध बनेको चेपेखोला जलविद्युत आयोजनाको काम सुचारु भएको छ । काममा अवरोध गरेका आयोजनास्थलका बासिन्दासँग समन्वय र समझदारी बनेपछि काम सुचारु भएको चम्पावती हाइड्रोपावर कम्पनीले जनाएको छ

‘आयोजनास्थल आसपास रहनु भएका गोरखा र लम्जुङका स्थानीयबासीले केही गुनासो लिएर काम रोक्न भन्नु भएको थियो’, कम्पनीका अध्यक्ष हरिराम पराजुलीले भने, ‘स्थानीयबासीसँग समन्वय गरेन भन्ने उहाँहरुको असन्तुष्टि सुनियो । हामी पटक पटक दुबै पक्षसँग वार्तामा बस्यौँ । बसेर छलफल गरेपछि आपसी समझदारीमा काम गर्ने भन्ने सहमति भएपछि आयोजनाको काम अघि बढेको छ ।’
जल विद्युत् आयोजना लमजुङको दुधपोखरी र गोरखाको सिरानचोक गाउँपालिकामा बन्नेछ ।
आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीकै पुँजी ३० प्रतिशत र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ । जसका लागि एनएमबी वैँकले लगानी गर्ने जनाएको छ ।

लागत प्रतिमेगावाट करीव रु १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा खरिद बिक्री गर्ने बारे चम्पावती हाइड्रोपावर कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच सम्झौता भइसकेको छ ।

आयोजना सन् २०२२ सम्म सम्पन्न गर्ने निर्माण कम्पनी चम्पावती हाईड्रोपावरले लक्ष्य लिइएको छ । कम्पनीका अध्यक्ष हरिराम पराजुलीका अनुसार प्राविधिक काम अगाडि बढेको छ
प्राविधिक र आर्थिक दुबै रुपले चेपे ‘ए’ आयोजना मोडल हाइड्रो पावरका रुपमा रहेको कम्पनीका डाइरेक्टर वरिष्ठ इन्जिनियर लक्ष्मण अर्यालले बताए ।
उक्त आयोजना पावर हाउस तथा बाँध बाँध्ने स्थलमा बाह्रै महिना सवारी साधन चल्नेगरी सडक पुगि सकेको छ । उक्त आयोजनाको पावर हाउस गोरखाको पाण्डेवेशी तथा लमजुङको वोराङखोलामा रहेको छ ।

सहज भौगोलिक तथा भौगर्भिक अवस्था र सडक सुविधाबाट नजिक रहेको आयोजना भएकोले निर्माण गर्न सजिलो हुने कुरा अर्का डाइरेक्टर रामेश्वर लामिछानेले बताए ।
चम्पावती हाईड्रोपावर कम्पनी प्रालिका सञ्चालक हरिराम पराजुली, टुकप्रसाद न्यौपाने, तिलकराज भट्टराई, श्याम थापा, रामेश्वर लामिछाने, लक्ष्मण अर्याल लगायतको उर्जा क्षेत्रमा लामो अनुभव भएका इन्जिनियरहरुको टिमले यो आयोजना निर्माण गर्न लागेको हो ।
यो आयोजना चेपे–कुएले खोलाको दोभानमा बाँध बाधेर चिल्ली खोला दोभानको सिरानचोक–२ (साविक थालाजुङ गाविस) को कुभिन्डे भन्ने ठाँउमा पावर हाउस निर्माण हुन्छ । उक्त आयोजनावाट निस्कने विद्युत ५ कि.मी. टाढा रहेको चिप्लेटी सवस्टेशनमा लगेर जोडिनेछ ।

राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले गोरखा र लमजुङ जिल्लाका नदीखोलाबाट उत्पादन हुने विद्युतको सहज रुपमा प्रशारण गर्न सिरानचोक १, केराबारीको कोदोम्वारीमा १३२ कि.मी. प्रसारण लाइन सव स्टेशन बनाएर ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष पराजुलीले बताए ।
ग्रिड कम्पनीसँग छलफलमा छौ, छिटो टुंगो लगाएर चेपे तथा दरौदी लगायतका नदीका आयोजनाहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने पहल भइरहेको छ’, उनले भने, ‘यसले प्रशारण चुहावटसमेत घटाउने छ ।
उक्त सवस्टेशन बन्ने बित्तिकै चेपे तथा दरौदीका माथिल्लो भागमा रहेका नदीहरुको सबै जलविद्युत आयोजनाहरु बनाउन सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्