| शुक्रबार, मंसिर १९, २०८२

मान्बुमा पाँच करोडमा बनेको छात्राबास भबनको उद्घाटन (फोटो फिचर)

गोरखाको आरुघाट गाउँपालिका २ भवानी मावि मान्बुमा रु. पाँच करोड लगानीमा छात्रावास भवन निर्माण भएको छ । पहिले रहेको छात्रावास भवन २०७२ सालको भुकम्पमा ध्वस्त भएपछि सम्भव नेपालले एक सय ६० जना विद्यार्थी अट्ने छात्रावास निर्माण गरेको हो ।

उक्त १६ कोठे छात्रबास भवनको शनिवार आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल, सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्री र सम्भव नेपाल स्विजरल्याण्डका संस्थापक मेलेनी प्रोजरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
साँघुरो गरी बस्दै आएका विद्यार्थीले आधुनिक सुविधासम्पन्न नयाँ छात्रावास भवन पाएपछि खुसी भएका छन् । ‘हामी छात्र छात्राका लागि छुट्टाछुट्ट आवास गृह छ’ विद्यार्थी देवकी खत्रीले भनिन् ‘नयाँ भवन बनेपछि धेरै सजिलो भएको छ ।’ धादिङको गंगाजमुना गाउँपालिका घर भई आवासीय रुपमा भवानी माविमा पढ्दै आएका प्रदिप बानियाँले यसअघि बस्दै आएको छात्रावास भन्दा नयाँ बनेको भवन सुरक्षित रहेको भन्दै खुसी ब्यक्ति गरे ।

अहिले दुईवटा आवास भवन, आठ वटा शौचालय, छ वटा बाथरुम, किचन, डाईनिङको छुट्टै भवन रहेको विद्यालयका प्रधानाध्यापक काजिराम कार्कीले बताए । ‘विद्यार्थीलाई चाहिने बेड, सिरक, डसना, किचनका सबै सामग्री र कम्यूटर ल्याब पनि संभब नेपालबाटै सहयोग पाएका छौँ’ उनले भने । भवन उद्घाटन गर्दै आरुघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले आवासीय सुविधाले सिकाई गुणस्तर बढाउन मद्धत पुगेको बताए । ‘विद्यालय छाड्ने दर न्यूनिकरण गर्न पनि छात्रावासले मद्धत पुगेको छ’ उनले भने । अझै पनि दुर्गम भेगका विद्यार्थी कक्षा १० पछि विद्यालय छाड्ने, अविभबाकले बिहे गरिदिने प्रवृत्ति रहेको बताउँदै उनले आबासीय सुविधामा पढ्न पाएपछि विद्यार्थीले उच्च शिक्षा लिन पाएको बताए ।

सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरी पढाउनबाट बञ्चित भएका अविभाबकलाई लक्षित गरी छात्रावास भवन निर्माणमा सघाएको बताए । ‘कोटा भन्दा धेरै माग हुँदा आबासीय रुपमा बस्ने विद्यार्थीले दुःख पाएका रहेछन्’ उनले भने ‘२०७२ सालको भुकम्पपछि यस विद्यालयमा सहयोग गर्न आउँदा समस्या भएको देखेपछि संस्थाबाट छात्रावासका लागि सहयोग जुटाएका हौँ ।’
नेपाल सरकारले शिक्षा मन्त्रालय अन्तर्गत उक्त छात्रावासलाई एकसय जना विद्यार्थीको कोटा दिएको छ । सरकारले वर्षेनी प्रति विद्यार्थी ४० हजार रुपैयाँ दिने गरेको विद्यालयका प्रधानाध्यापक कार्कीले बताए । ‘एक सय जना विद्यार्थीको कोटा सरकारले तोकिएको छ, सोही अनुसार खर्च आउँछ’ उनले भने ‘माग धेरै भएकाले हामीले एक सय ५० जना राखिरहेका छौँ ।’ सरकारले वार्षिक ३५ लाख रुपैयाँ खाना र पाँच लाख अन्य खर्च गरी ४० लाख पठाउने गरेको उनले बताए । गरिब, जेहेन्दार, दुर्गम भेग र अविभाबक बिहिन भएकालाई आवासीय रुपमा बस्न प्राथमिकता दिने गरेको विद्यालयले जनाएको छ ।


२०१८ सालमा प्राथमिक तहबाट पठनपाठन सुरु भएको उक्त विद्यालयमा सरकारले २०६८ सालबाट हिमाली छात्रावास संचालन गर्दै २० जनाको कोटा निर्धारण गरेको थियो । २०७५ सालमा एक सय जनाको छात्रवृत्ति कोटा निर्धारण भएको भवानी माविमा सबैभन्दा धेरै उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका विद्यार्थी पढ्छन् । धार्चे, चुमनुब्री, आरुघाट, धादिङको त्रिपुरासुन्दरी, गंगाजमुना र केही अन्य जिल्लाका विद्यार्थी अहिले आवासीय सुविधा सहित पढ्दै आएका छन् ।

शनिवार छात्रावास भवन उद्घाटन कार्यक्रममा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले आरुघाट भन्दा अझै दुर्गममा रहेको धार्चे गाउँपालिकामा आवासीय सुविधा भएको विद्यालय नरहेकाले भवानी मावि मान्बुमा धेरै त्यहाँका विद्यार्थीले पढ्ने अवसर पाएको बताए । ‘यस्ता आवासीय विद्यालय दुर्गमका सबै पालिकामा हुनुपर्छ’ उनले भने । कार्यक्रममा आरुघाट गाउँपालिका २ का अध्यक्ष सोमप्रसाद घले, वडा नम्बर १० का अध्यक्ष मिनबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्