| बिहिबार, बैशाख ६, २०८१

बजेट लत्याउनु विकासको सपनामा तुषारापात

हाम्रो जस्तो गरिब देश, गरिब देशका गरिब पालिकाहरुलाई विकास निर्माणको काम गर्न सँधै बजेट अपर्याप्त हुने गर्छ । एकै बर्षभित्र सञ्चालन गर्न बजेट अभाव हुँदा सातातिना योजनाका काम पनि बहुबर्षे योजनाका रुपमा सञ्चालन गर्नुपर्ने अबस्था छ ।
कुन शीर्षकमा बजेट कहाँबाट पाइएला र सर्वसाधारण नागरिकले माग गरेअनुसार योजना दिउँला भन्ने पालिकाहरुलाई परिरहेको होला ।

तर कतिपय घटनाक्रम देख्दा उपरोक्त कुरा मनगढन्ते लाग्छ । कतिपय पालिकाले विनियोजित रकम पनि नलगेर आफ्ना पालिकाबासीको सपनामा कुठाराघात गरिरहेका छन् । भवन निर्माण, खानेपानी लगायतका पूर्वाधार निर्माणमा खर्च गर्न जिल्ला समन्वय समितिले विनियोजन गरेको करोडौँ रकम पालिकाहरुले लत्याइरहेका छन् ।

जिल्ला समन्वय समिति गोरखाले स्थानीय तहलाई दिएको अनुदान अधिकांशले नलगेका हुन् । २०७६ सालको भदौ महिनामा सबै पालिकाका प्रमुख सहितको उपस्थितिमा बैठक बसेर जिल्ला समन्वय समितिले गाउँपालिकाहरुलाई एक करोड १० लाखका दरले र नगरपालिकालाई एक करोड ४० लाखका दरले बजेट बिनियोजन गरेको थियो ।

बजेट बिनियोजन भएको दुई वर्षसम्म पालिकाहरुले रकम नलगेका समन्वय समितिले जनाएको छ । अहिलेसम्म बजेट नलानेहरुमा धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका, चुमनुब्री, अजिरकोट, सिरानचोक, भिमसेन थापा, शहिदलखन थापा गाउँपालिका हुन् ।
जिल्ला बिकास समितिको संरचना हुँदा पर्यटन, विद्युत लगायत रोयल्टीबापत संकलित रकम लामो समयदेखि बितरण नहुँदा जिल्ला समन्वय समितिको मौजाद कोषमा रहेको थियो । सोहीमध्यको केही रकम केही पालिकाले लगेर कार्यान्वयन गरेका छन्, अधिकांश पालिकाले भने नलगेका हुन् ।
विकास गर्नका लागि पालिकाहरुको यो उदासिनताले उनीहरुको विकासप्रतिको लगाव प्रदर्शन गर्छ ।

प्रतिक्रिया दिनुहोस्