| शुक्रबार, बैशाख ३, २०७८

भिमसेन पार्कमा आन्तरिक पर्यटकको भीड

गोरखाको भिमसेन पार्कमा हिजोआज आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको छ । भिमसेन थापाको पूर्ण कदको शालिक सहितको पार्कमा बिदाको दिन अझै धेरै मानिस आउने गरेको स्थानीय बताउँछन् । गोरखा सदरमुकामबाट करिब चार किलोमिटर टाढा र ऐतिहासिक गोरखा दरबारबाट दुई किलोमिटरको दुरीमा रहेको भिमसेन पार्कमा फोटो खिचाउन, हिमाली तथा उत्तरी गोरखाको सुन्दर मनोरम दृष्यहरु अवलोकन गर्न मानिसहरु आउने गरेको वडा अध्यक्ष रामशरण अधिकारीले बताए ।

बालवालिका र युवायुवतीहरु धेरै जाने उक्त पार्क रमणीय छ । फोटो खिचाउनेहरुको पनि लर्को लाग्ने गरेको अध्यक्ष अधिकारीले बताए ।
नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापाको मामाघर सोही ठाउँमा रहेको र उनी मामाघरमा जन्मिएकाले उनको जन्मथालोको रुपमा त्यस ठाउँलाई पर्यटकीय केन्द्र बनाउने योजना नगरपालिकाको छ । अहिले पर्यटक आकर्षित गर्न बिभिन्न पूर्वाधारका योजना बनिरहेको वडा अध्यक्ष अधिकारीले बताए ।

उक्त पार्कबाट बारपाक सुुलिकोट, भिमसेन थापा गाउँपालिकाका बिभिन्न ठाउँ, सिरानचोक कोट, उत्तरी गोरखाको हिमश्रृङखलाका दृष्यहरु देख्न सकिन्छ । केही वर्षअघि झाडीले छोपेको उक्त ठाउँमा पार्क बनेपछि पर्यटकको चाप बढेको स्थानीय मकर मगर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्