| बिहिबार, बैशाख ६, २०८१

गोरखा नगरपालिकाद्वारा विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

गोरखा नगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी तालिम सोमबार सम्पन्न गरेको छ । नेपाली सेनाको रिपु मर्दन गणको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नं. ६, ८ र ९ को विपद व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागी रहेको थियो ।

उक्त तालिममा विपद कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा नेपाली सेनाको रिपुमर्दन गणले सिकाएको गोरखा नगरपालिकाका सूचना अधिकारी चेतप्रसाद अम्गाईले बताए ।
डँडेलो लागेको अवस्थामा, भूकम्प आएको बेला, बाढी पहिरो आएको समय कसरी सावधानी हुने, कसरी न्यूनिकरण गर्ने, कसरी नियन्त्रण गर्ने भनेर प्रशिक्षण दिइएको अम्गाईले बताए । यस्ता विपद आइपरेको समयमा यहि विपद व्यवस्थापन समिति नै खटिने पनि उनले जनाए ।


नगरपालिकाले विपद व्यवस्थापन समितिलाई सबल र सदृढ गर्न राहत सामग्रीहरु उपलब्ध गराउने छ । साथै उद्धार र विपद नियन्त्रण गर्ने सामग्री दिने लक्ष्य रहेको अम्गाईले बताए ।
सोमबारको कार्यक्रमको उद्घाटन समारोहमा मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल, जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल, वडा नं. ८ का अध्यक्ष कृष्ण केशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा वडाअध्यक्षहरु, गोरखा उद्योग वाणिज्य संघ, गोरखा चेम्बर अफ कमर्स, रेडक्रस शाखा, पत्रकार महासंघका पदाधिकारीहरु, लगायतको सहभागिता रहेको थियो ।


नगरपालिकाले सबै १४ वटै वडामा वातावरण तथा विपद व्यवस्थापन समिति गठन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्