| शुक्रबार, बैशाख ३, २०७८

पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन निर्माण हुदैँ (फोटो फिचर सहित)

आषिश कुमार भट्ट : गोरखाको पुरानो बसपार्क नजिकै बहुउद्देश्यीय भवनको धमाधम निर्माण भइरहेको छ । गोरखा नगरपालिका र नगर विकास कोषको साझेदारीमा उक्त भवन निर्माण भइरहेको हो ।
बैशाख १५ गतेसम्म भवन निर्माण गरिसक्ने लक्ष्य रहेको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए ।

करिब पाँच करोड ४० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको उनले बताए ।


उक्त भवन बनेपछि नगरवासीले उत्पादन गरेका सामाग्रीहरु तथा सम्पूर्ण आधारभूत आवश्यकताका वस्तुहरु एकै ठाउँमा पाइनेछ । कपडा, खाद्यान्न, कफी सप जस्ता विभिन्न थरीका पसलहरु एकै ठाउँमा रहने गरी बनाइएकोले उक्त भवनलाई बहुउद्देश्यीय भवन भनिएको उनले बताए ।

फुटपाथमा विभिन्न व्यवसायीहरुले कब्जा जमाएर हिड्ने यात्रीहरुलाई असहज बनाएको हुनाले फुटपाथमा हुने व्यवसायलाई हटाएर व्यवस्थित बनाउनका लागि उक्त भवन बनाइएको ढकालले बताए । ‘मूख्य लक्ष्य गोरखा नगरपालिकाको आन्तरिक आय वृद्धि गर्ने हो,’ उनले भने । उक्त भवनमा ३८ वटा सटर रहने साथै पार्किङ तथा शौचालयको पनि राम्रो व्यवस्था रहनेछ ।


२०७६ साल भदौ १ गते बाट सुरु भएको उक्त भवन निर्माण २०७८ बैशाख १५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । उक्त भवन निर्माणको काम सिनर्जी, कृष्टल, सचेत जेभीले गरेको हो । त्यहाँ रहेको खोल्सालाई व्यवस्थित बनाई मानिसहरु आवताजावत गर्न सजिलो हुने गरी बाटो बनाइएको छ ।
त्यसै गरी पहिरो नियन्त्रणको लागि पर्खाल उठाउने काम पनि हुने ढकालले बताए । पुन ठेक्कामार्फत सटर भाडामा लगाइने नगरपालिकाको लक्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्