| आइतवार, बैशाख २६, २०७८

सरकारी विद्यालयमा शिक्षक राख्न चन्दा संकलन

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को चण्डिका आधारभुत विद्यालयले निजी स्रोतमा शिक्षक राख्न चन्दा संकलन सुरु गरेको छ । विद्यालयमा भईरहेको शिक्षक दरबन्दी कटौती भएपछि वडा अध्यक्ष, ब्यवस्थापन समिति, स्थानीय र स्वयम विद्यालयमा पढाउने शिक्षकहरुले आर्थिक संकलन सुरु गरेका हुन् ।


‘एउटा दरबन्दी कटौती भइसक्यो, अर्को पनि कटौती हुने कुरा छ’ विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले भने । एक देखि आठ कक्षा सम्म संचालन भएको उक्त विद्यालयमा एक सय ६५ जना अध्ययन गर्छन । कटौती दरबन्दी आधारभुत तहको भएको र एक देखि पाँच सम्म थोरै विद्यार्थी संख्या भएकाले दरबन्दी काटिएको उनले बताए ।


नर्शरी, एलकेजीमा पढाउने छुट्टाछुट्टै शिक्षक छन् । एक देखि आठ कक्षा सम्म नियमित कक्षा लिन आठ जना शिक्षक चाहिन्छ । दुईवटा दरबन्दी कटौती हुँदा सात जना मात्रै शिक्षक बाँकी हुनेछन् । ‘एउटा कक्षामा एक जना शिक्षक पनि नहुने अवस्था सिर्जना हुन लाग्यो’ प्रअ श्रेष्ठले भने । हरेक घण्टीमा कक्षा लिन नमिलने अवस्था आएपछि शैक्षिक गुणस्तर खस्कने डरले निजी स्रोतमा शिक्षक राख्न स्वेच्छिक रुपमा आर्थिक संकलन गरिएको उनले बताए ।


वडा अध्यक्ष शरण श्रेष्ठको उपस्थितीमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर बिकको अध्यक्षतामा मंगलवार बसेको बैठकले आर्थिक संकलन गरेर निजी स्रोतमा शिक्षक राख्ने निणर्य गरेको छ । ‘शिक्षक नभएर दुईवटा कक्षा एकै ठाउँमा पढाउनुपर्ने अवस्था आउन लाग्यो’ वडा अध्यक्ष श्रेष्ठले भने ‘छलफलपछि हामीले निजी स्रोतमा शिक्षक राख्ने निणर्य गरेका हौँ ।’
वडा अध्यक्ष श्रेष्ठले २८ हजार पाँच सय, प्रधानाध्यापक गणेशमान श्रेष्ठ, शिक्षक कृष्णप्रसाद अम्गाई, कमला श्रेष्ठ, अन्जु श्रेष्ठले २८ हजार दुई सय, शिक्षकहरु नारायण कुमार श्रेष्ठ, बिनिता थापा मगर, कल्पना श्रेष्ठ, सन्तोषी लामिछानेले २६ हजार छ सय १० सहयोग गरेका छन् ।

शिक्षक एलिसा श्रेष्ठले १६ हजार आठ सय, बिष्णु बिकले १० हजार र कार्यालय सहयोगी जितबहादुर श्रेष्ठले पाँच हजार सहयोग गरेका छन् । विद्यालयमा शिक्षक राख्न दिपककुमार श्रेष्ठ (अनु), कृष्णमान श्रेष्ठ (इश्वर), रामप्रसाद श्रेष्ठ, बिष्णुबहादुर श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, शंकर प्रधान, प्रकाश श्रेष्ठ, किरणबाबु श्रेष्ठले नगद १०/१० हजार सहयोग गरेका छन् । पूणर्बहादुर थापा, लेखबहादुर थापाले १५/१५ हजार सहयोग गरेका छन् । प्रकाश गजमेरले पाँच हजार, फत्तबहादुर रानाले २५ हजार र सुवेदार श्यामबहादुर थापाले ५० हजार गरी चार लाख ९४ हजार पाँच सय ४० रुपैयाँ संकलन भएको छ । ‘पहिलो दिनमा यो रकम जुटेको हो’ प्रअ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्