| आइतवार, बैशाख २६, २०७८

गण्डकी प्रदेशमा काँग्रेसकाे नेतृत्वमा सरकार बनाउने सहमति

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारीमा रहेका दुई पार्टीले मुख्यमन्त्री कसले लिने समेत टुंगो लगाएका छन्।

दुबै पार्टीनिकट स्रोतका अनुसार मंगलबार र बुधबार भएको दुबै पार्टीको शीर्ष नेताहरुको बैठकले गण्डकी प्रदेशमा कांग्रेसको मुख्यमन्त्री बनाउने समझदारी गरेका छन्।

दलभित्र सहमति जुटिसकेकोले गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध केहीदिनमै अविश्वासको प्रस्ताव पनि पेस हुँदैछ।

सो सहमतिअनुसार सो प्रदेशमा कांग्रेसका संसदीय दल नेता रहेका कृष्णचन्द्र नेपाली पोख्रेल नै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने प्रबल संभावना रहेको नेताहरुको भनाइ छ।

सरकार टिकाउन निर्णायक रहेको राष्ट्रिय जनमोर्चाले बुधबार समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परिसकेको छ।

गण्डकी प्रदेश सभामा ६० जना सांसद रहेका छन्। त्यसमा एमालेका २७ सांसद छन्। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १३ (सभामुख नेत्रनाथ अधिकारीसहित), जनमोर्चाका तीन र जनता समाजवादी पार्टी (जसपा)का २ सांसद रहेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सो पदमा टिकिराख्न एमालेबाहिरका ४ सांसदको आवश्यकता पर्छ।

बुधबार राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै एमालेको सबैभन्दा सुरक्षित मानिएको गण्डकी प्रदेश सरकार नै सबैभन्दा पहिले संकटमा पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्