| शनिबार, बैशाख ८, २०८१

गुप्सीको एकीकृत बस्ती बैशाख ९ गते हस्तान्तरण गर्ने

गैरआवासीय नेपाली संघ, एनआरएनएले निर्माण गरेको लाप्राकको गुप्सी एकीकृत बस्ती आउँदो बैशाख नौ गते हस्तान्तरण गरिने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र एनआरएनएका अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङलाई बस्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ ।

‘एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गर्छ । गाउँपालिकाले घरधनीलाई हस्तान्तरण गर्नेछ’, गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले भने, ‘अनि बस्तीको उद्घाटनचाहिँ एकबर्षपछि राष्ट्रपतिको हातबाट हुनेछ ।’ एकीकृत बस्तीका लागि घर निर्माण भएपनि अन्य पूर्वाधार निर्माण नभएकाले एकबर्षको अवधिमा ढल, खानेपानी, विद्युतीकरणलगायतका संरचना निर्माण गर्न बाँकी रहेको उनले बताए ।

एनआरएनएले गत २०७३ सालको फागुन महिनादेखि बस्ती निर्माणको काम सुरु गरेको थियो । पाँच बर्षको अवधिमा पाँचसय ७३ वटा घर निर्माण गरेको छ । सबै घर एउटै साइज, एउटै डिजाइनअनुसार निर्माण भएका छन् ।
एकतले, दुईपाखे सौचालयसहितको घर निर्माण गरिएको हो । सबै घरहरुमा प्लास्टिकको झ्यालढोका राखिएकाले स्थानीयबासी स्वयंले प्लास्टिकलाई काठले विस्थापित गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्