| शुक्रबार, बैशाख ७, २०८१

गण्डकीमा काेराेनाबाट थप चार जनाको मृत्यु

गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १/१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान पौने ६ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलालाई कोभिड–१९ डबल म्युटेन्ट देखिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

थप ४ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्