| शुक्रबार, बैशाख १४, २०८१

गण्डकीमा नीति तथा कार्यक्रम र बजेटका बारेमा विपक्षीसँग छलफल गर्ने

गण्डकी प्रदेश सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँगको छलफलपछि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । संबैधानिक व्यवस्थाअनुसार असार १ गते अनिवार्य बजेट ल्याउनुपर्ने भएपनि तीन दिन अगाडि मात्र नयाँ सरकार गठन भएकाले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगको सल्लाह अनुसार अगाडि बढ्ने गरी तयारी गरिएको हो ।
शनिबार नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद बैठकले सरकारको प्रवक्तामा विना विभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी दिने निर्णय गरेको थियो । प्रवक्ता खड्काले पहिलो बैठकले पूर्व मुख्यमन्त्रीको सेवा सुविधा र सम्मानका बारेमा कुनै नीति नभएकाले मन्त्री परिषदले यसका बारेमा निर्णय गरेको बताउनुभयो ।
कानूनी बाध्यताअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि प्रदेश सरकारसँग दुई दिन मात्र भएकाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले), निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भेटघाट र छलफल गर्ने निर्णय भएको थियो ।
‘नीति तथा कार्यक्रम आउँनु पर्छ, बजेट आउँनुपर्छ, समय भोली र पर्सी दुई दिन मात्र छ, भोली नीति तथा कार्यक्रम र १ गते बजेट ल्याउनुपर्ने बाध्यता छ, अब त्यो बाध्यताका बारेमा विपक्षी, निवर्तमान मुख्यमन्त्रीसँग छलफल गरेर यो समय सिमामा सम्भव नभए के विकल्प अपनाउँने भन्ने बारेमा छलफल गरेर समझदारी अनुसार अगाडि बढ्छौं ।’ खड्काले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्