| शनिबार, बैशाख ८, २०८१

कोरोनाका बेला गोरखा अस्पतालमा रडाको, चिकित्सकद्वारा राजिनामा


कोरोना महामारी व्यवस्थापन गर्नुपर्ने बेला गोरखा अस्पतालमा विभिन्न बिषयमा रडाको मच्चिएको छ । रडाको थाम्न नसकेको कारण देखाउँदै अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ चिकित्सक हेमन्त ढुङ्गानाले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसमक्ष राजिनामा दिएका छन् ।


मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेलले अस्पतालमा काम गर्ने वातावरण नबनाएको डाक्टर ढुङ्गानाले राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

‘कोरोना महामारीको अबस्थामा सामुहिक रुपमा तनाबमुक्त तथा मैत्रीपूर्ण वातावरणमा काम गर्ने वातावरण बनाउनु पर्नेमा उल्टै मेडिकल सुपरिटेण्डेण्टले चरम गुटबन्दी, आरोप प्रत्यारोप, दबाब र तनाबमा रुमल्लिएको छ’, डाक्टरले राजिनामा पत्रमा लेखेका छन्, ‘अस्पतालको विकासका लागि राखिएका समस्या र सुझावका बिषयलाई सकारात्मक रुपमा लिएर समाधानको पहल थाल्नु पर्नेमा मेसुले चिकित्सक, कर्मचारीहरुप्रति पूर्वाग्रह राखी प्रतिशोध साँध्नु र असहयोग गर्नु दुखपूर्ण छ ।’ विवादै विवादका बीच काम गर्ने वातावरण नभएकाले राजिनामा दिएको उनले जनाएका छन् ।


गत चैत आठ गतेदेखि यहाँ हाजिर भई काम गरिरहेका उनी सामाजिक विकास मन्त्रालयद्वारा नियुक्त गरिएका नवौँ तहका विशेषज्ञ चिकित्सक हुन् ।


यसअघि गत जेठ २३ गते चिकित्सक ढुंगानासहितका स्वास्थ्यकर्मी र कर्मचारीले मेसुले गरेको दुव्र्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रमुख जिल्ला अधिकारी र अस्पताल व्यवस्थापन समितिसमक्ष ध्यानाकर्षण पत्र पेश गरेका थिए । मेसुले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जागिर खाइदिन्छु भन्ने गरेको लगायतका आरोप लगाइएको थियो ।


यस विषयमा अस्पताल विकास समितिले दुई पक्षीय छलफल गरी विवाद समाधान गरे पनि चिकित्सकले राजिनामा दिएका हुन् ।

मेसु शान्ति भुर्तेलले चिकित्सक ढुङ्गानाको राजिनामा बारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिइन् । ‘खै उहाँले उतै राजिनामा दिनु भएको होला, मलाईचाहिँ थाहा छैन’, उनले भनिन्, ‘मलाई मेसेजचाहिँ आएको थियो । त्यति हो ।’

प्रतिक्रिया दिनुहोस्