| शनिबार, बैशाख ८, २०८१

मनास्लुमा स्याउ फल्न थाल्यो, यो वर्ष एउटा बोटमा पाँच किलो

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा स्याउ फल्न थालेको छ । चार हजार भन्दा धेरै बिरुवा रोपिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ नाम्रुङमा यस वर्ष २० हजार किलो स्याउ उत्पादन हुने फार्मका संचालक लाक्पाडुण्डुप लामाले बताए ।
‘अहिले स्याउ फल्न थालेको छ, दाना पनि राम्रो छ’ उनले भने ‘यो वर्ष एउटा बोटमा पाँच किलो स्याउ फल्छ भन्ने अनुमान छ ।’ मनास्लुमा फलेको स्याउ गोरखा बजारमा ल्याएर बिक्री गर्ने योजना रहेको उनले सुनाए ।

‘ढुवानी गर्न समस्या छ, सडक जोडिएको छैन, हेलिकप्टरबाट गोरखा, काठमाण्डौँ लगायत ठाउँमा बिक्री गर्ने योजनामा छौँ’ लाक्पाडुण्डुप लामाले भने ।
‘इन गोरखा प्रोडक्ट प्रालि’ले नाम्रुङको ३०० रोपनी क्षेत्रफलमा पहिलो पटक स्याउ खेती सुरु गरेको हो । स्याउ बगैँचामा गोल्डेन डेलिसियस, फुजी र गाला प्रजातिका स्याउका बिरुवा रोपिएको छ ।
कृषि ज्ञानकेन्द्रको ७० प्रतिशत अनुदान र व्यवसायीको ३० प्रतिशत लागतमा इटलीबाट चारहजार तीनसय ७० वटा विरुवा ल्याएर दुई वर्ष अघि लगाइएको थियो ।
यसअघि पनि सो क्षेत्रमा स्याउ खेती हुने गरेको थियो । यातायातको साधन नहुँदा बारीमा फलेका स्याउहरु गाउँमै खाएर सक्ने गरिएको थियो ।

स्याउ फस्टाउने हावापानी भएर पनि कसैले पनि व्यवसायिक रुपमा स्याउ खेती नगरेकाले आफूले सुरु गरेको व्यवसायी लामाको भनाइ छ । युवाहरुलाई स्याउ व्यवसायमा आकर्षण बढाउन आफूले अग्रसरता लिएको उनले बताए ।
जग्गा जुटाउन तथा बगैँचा तयारीका लागि डेढ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको संचालक लामा बताउँछन् । अहिले उत्पादन दिन थालेको विरुवाले रोपेको ३५ वर्षसम्म फल दिन्छन् । कम्पनीले २६ वर्षका लागि गाउँलेसँग जमिन भाडामा लिएको छ ।
स्याउ बगैंचालाई नमुना अर्गानिक गन्तव्यका रुपमा विकास गर्ने योजना छ । फार्ममा जडीबुटी पनि खेती गरिएको छ जहाँ सतुवा, वन लसुन, अलैंची आदि रोपिएको लामाले जनाए । समुद्री सतहबाट २६५० मिटर उचाईमा स्याउ खेती गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्