| शुक्रबार, साउन १५, २०७८

उत्तरी गोरखामा खाद्यान्न हाहाकारको अबस्था


चीनले नेपालका सबै साना नाकाहरु साउन तथा भदौको पहिलो हप्तामा गरी बर्षमा दुईपटक खुल्ला गर्ने गथ्र्यो । दुईबर्षअघि साउन, भदौमा एकसाताका लागि खोलेर बन्द गरेको नाका अहिलेसम्म नखुलाउँदा सीमा क्षेत्रका बासिन्दा भोकमरीको अबस्थामा पुगेका छन् ।


वुहानमा कोभिड १९ का बिरामी भेटिएपछि चीनले औपचारिक रुपमा नाका बन्द गरेको थियो ।

सदरमुकामबाट छ, सातदिनसम्म पैदल हिडेपछि पुगिने सीमावर्ती गाउँहरुमा अहिले बाढी पहिरोका कारण पदमार्ग हिड्नै नसक्ने गरी भत्किएका छन् । सीमा पनि नखुल्ने, सदरमुकामबाट खाद्यान्न ढुवानी गर्ने मार्ग पनि बन्द हुँदा उत्तरी सीमा क्षेत्रका बासिन्दामा भोकमरीको चिन्ता छ ।
खाद्यान्न संकट आउन थालेपछि सिर्दिबाससम्म हेलिकोप्टरबाट धेरथोर चामल ढुवानी गरी भरथेग गर्ने प्रयास गरिएको छ । अन्य गाउँहरु खाद्य संकटको अबस्थामा पुगेका छन् ।


दुई बर्षदेखि नाका ठप्प हुँदा चामल, पिठो लगायतका खाद्यान्न हाहाकार हुन थालेको चुमनुब्री गाउँपालिका ३ का विशाल हिमाली घले बताउँछन् । उनका अनुसार बाढी, पहिरोका कारण अहिले सदरमुकामबाट पनि खाद्यान्न ओसार्न सक्ने अबस्था छैन ।


घरमा खाद्यान्न सकिएकाले चाँडो जोहो गरिदिने बारे दिनहूँ गुनासो सुन्नु परेको अर्का स्थानीय गणेश कार्की बताउँछन् ।


सीमावर्ती गाउँ पुग्न सदरमुकामबाट एक दिनको बाटो गाडीमा र पाँचदिनसम्म पैदल हिड्नु पर्छ । स्थानीय उत्पादन पनि राम्रो नहुने, सदरमुकामबाट टाढा रहेको र सीमाना पनि लामो समयदेखि ठप्प हुँदा जनजीवन धेरै कठिन भएको अर्का स्थानीय दावा नोर्बु लामा बताउँछन् । ‘गाउँको उत्पादनले दुईतीन महिनाभन्दा धेरै समयलाई खान पुग्दैन’, लामा भन्छन्, ‘बाँकी नौ महिनालाई पुग्ने सामान चीनको कोङदाङबाट ल्याउनु पर्छ । तर दुईबर्ष भयो, नाका खुलेको छैन । तल्लो क्षेत्रको बजारबाट सामान किनेर ल्याउँन बाटो छैन, धेरै महंगो पनि पर्छ । तिब्बती बजारमा पाइने कतिपय सामान तलका बजारहरुमा पाइदैनन् ।’ करु, चामल, नून, तेल, घ्यू, चियापत्ती, चिनी लगायतका दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको उनले बताए ।


चीनियाँ सरकारले सामागाउँको रुइला नाका बर्षमा एकफेर र छेकम्पारको मुलाढाज्यान(ङुइला) नाका बाह्रै महिना खुलाउने गथ्र्यो । तर कोरोनाका कारण देखाएर लामो समयदेखि एकातर्फी रुपमा नाका बन्द गरेको चुमनुब्री गाउँपालिका ७ का वडा अध्यक्ष पासाङ फुञ्जो लामाले बताए ।
‘यत्तिका समय भइसक्यो, अझै नाका खुल्ने सम्भावना छैन’, उनी भन्छन्, ‘गाउँलेलाई अत्यावश्यक घ्यू, चियापत्तिहरु कत्तिपनि छैन । यो सामान तल्लो क्षेत्रको बजारमा पनि पाइँदैन । त्यसैले हामीलाई समस्या भएको छ ।’


समस्या उत्पन्न भएपछि काठमाडौंस्थित चिनियाँ दूतावास र ल्हासास्थित महावाणिज्य दूतावासको कार्यालयमा नाका खोल्न पहल गरिदिन पत्राचार पनि गरिएको छ तर सुनुवाई भएको छैन । ‘नाका खुलाउन हामीले नागरिकको स्तरबाट गर्ने सबै पहल ग¥यौँ । वडा कार्यालयको तर्फबाट चिनियाँ दूतावासमा, तिब्बतको ल्हासामा रहेको महावाणिज्य दूतावासको कार्यालयमा पत्राचार ग¥यौँ तर सुनुवाई भएको छैन’, वडा नं. १ का वडा सदस्य निमा दोर्जे लामाले भने, ‘अब सरकारले नै पहल गर्नुपर्ने देखिन्छ ।’ गाउँ बस्तीहरुमा नाकाबन्दीले नकारात्मक असर पारेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्