| शुक्रबार, साउन १५, २०७८

बलि (कुर्वान) दिने पर्व बकर इद मनाइँदै

आज गोरखासहित देशभरका मुस्लिम समुदायले बकर इद पर्व मनाउदैछन् । अल्लाहको नाममा जनावरको बलि दिनु यो पर्वको मुख्य विशेषता हो ।

यसलाई मुस्लिम समुदायमा कुर्बानी भन्ने प्रचलन छ । विशेष गरेर यो पर्वका अवसरमा उँट, राँगा, खसी, बोका, बाख्रा लगायतका जनावरलाई अल्लाहको नाममा कुर्बानी दिने गरिन्छ । तर कुर्बानी गर्दा ठूलो जनावरमा बढिमा सात जनासम्म र सानो जनावरमा भने एक जनाले मात्र लगानी गर्न पाउने धार्मिक प्रावधान छ ।

यसरी कुर्बानी गरिएको मासुलाई तिन भागमा बाड्ने प्रचलन रहेको धार्मिक गुरुहरु बताउछन् । जसमा एक भाग गरिव, विपन्न परिवारलाई, एक भाग आफुलाई र एक भाग आफन्तहरुका लागि छुट्याइन्छ । कुर्बानी दिदा मासु खाने भन्दा पनि पुण्य प्राप्तीको उदेश्य लिनु आवस्यक रहने गुरुहरुको भनाई छ ।

इश्लाम धर्मावलम्बीहरुको महान पर्व मध्येको एक मानिने यो पर्वमा आफन्तजन, चेलिबेटी, साथीभाई लगायतहरुलाई पनि बोलाउने र सामुहिक रुपमा इद पर्व मनाउने प्रचलन छ । तर अघिल्लो बर्षदेखि सुरु भएको कोरोना भाइरसका कारण भने इदको रौनक हराएको मुस्लिम समुदायका अगुवाहरु बताउछन् ।

संक्रमण फैलन डरले आफन्तहरु एक ठाउँमा भेला हुन सकेका छैनन भने जिल्लाबाहिर रहेका समेत घर फर्केर परिवारसंग इद मनाउन सक्ने अवस्थामा छैनन । कोरोना जोखिमकै कारण यस बर्ष समेत मुस्लिम समुदायका मानिस इदगाह, मस्जिदहरुमा गएर सामुहिक नमाज पढ्न सकेनन ।

यस बर्ष समेत सिमित संख्यामा मात्रै मानिसहरु भेला भएर इदको नमाज पढेको खबर प्राप्त भएका छन् । पर्वकै अवसरमा यस बर्ष सरकारले देशभर सार्वजानिक विदा समेत दिएको छ ।
कोरोना जोखिमकै कारण अघिल्लो बर्षदेखि रोकिएको हज यात्रा यस बर्ष समेत हुन सकेन ।

यसै पर्वलाई केन्द्रित गर्दै हरेक बर्ष गोरखासहित नेपालबाट एक हजार भन्दा बढी संख्यामा हजयात्रीहरु साउदीको मक्का र मदिना सरिफ पुग्ने गर्थे तर अघिल्लो बर्षदेखि कोरोना भाइरसले यो यात्रालाई समेत प्रभाव पारेको छ ।

प्रतिक्रिया दिनुहोस्