| शुक्रबार, साउन १५, २०७८

तीनखण्डेका पहिरो पीडितको अबस्था एकबर्षदेखि जस्ताको तस्तै

गतबर्ष साउन ६ गते(आजकै दिन) बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ तीनखण्डेका तीन घर पहिरोले लग्यो । बिहान सुतिरहेका बेला करिब पाँच बजे स्थानीय गोकर्ण भट्ट, लालप्रसाद भट्ट र देवीमाया भट्टको घर पहिरोले बगायो ।


गोकर्ण भट्टको चार जनाको परिबार, लालप्रसाद भट्टको पाँचजनाको परिबार र देवीकुमारी भट्टको पाँचजनाको परिबार त्यहाँबाट बिस्थापित भएर उनीहरु नजिकैको एक आधारभूत विद्यालयमा आश्रय लिएर बसे ।


विद्यालयमा पठनपाठन सुरु भएपछि उनीहरुको बास त्यहाँबाट पनि उठ्यो । बिचल्लीमा परेका उनीहरुलाई अमेरिकामा रहेका घ्याम्पेशालका युवाहरुले घडेरी किन्नका लागि तीन लाख रुपैयाँका दरले आर्थिक संकलन गरी पठाए । आफूहरु सो रकमले केही सुरक्षित स्थलमा घडेरी किनेर त्यहाँ अस्थायी संरचना बनाई बसेको तर पुनस्थापित गराउन कसैबाट पहल नभएको स्थानीयको गुनासो छ ।


‘पोहोर हाम्रो बिजोक भएपछि गाउँपालिकाले १५ हजार रुपैयाँका दरले राहत दिएको थियो । सांसद प्रकाशचन्द्र दवाडी, र केही संघसंस्थाले पनि अलिअलि आर्थिक र खाद्यान्न सहयोग गर्नुभयो’, पीडित अर्जुन भट्ट भन्छन्, ‘त्यसपछि अरु केही सहयोग आएको छैन । हामी कसरी बसेका छौँ भनेर कोही हेर्न आएको पनि छैन, हाम्रो अबस्था कस्तो छ भनेर कसैले सोधेको पनि छैन ।’ त्यतिबेला चह¥याएको घाउमा मल्हम लगाउन विभिन्न आश्वासन दिनेहरुले एकबर्षसम्म सोधनीपुछनी केही नगरेको स्थानीयबासीको गुनासो छ ।


पहिरोले गोकर्ण भट्टको घर जगैदेखि बगाएर लगेको थियो भने लालप्रसाद र देवीकुमारी भट्टको घर भत्काएर लगेको थियो ।


‘बरु हामीले नै पालिकामा गएर हाम्रो बारेमा अब के हुन्छ, के हुन्छ भनेर सोधिरहेका छौँ, तर हामीलाई कसैले वास्ता गरेको छैन’, अर्जुन भट्ट भन्छन्, ‘पालिकाले पनि आशालाग्दो जवाफ दिँदैन, निराश भएका छौँ ।’


राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरो पीडितलाई पनि सहयोग गर्ने जिल्ला स्तरीय विपत व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल बताउँछन् । ‘संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त योगदानमा घरबास गुमाएका परिबारले चारलाख रुपैयाँका दरले राहत पाउँछन्’, उनी भन्छन्, ‘गाउँपालिकाले ती परिबारको पनि फाराम भरेर पठाएको भए घर बनाउने राहत रकम पक्कै पाउँलान् ।’


तीनखण्डेका पीडितहरुको फाराम भरेर पठाएको गाउँपालिकाले जनाएको छ । संघ र प्रदेश सरकारबाट आउनु पर्ने रकम आएपछि पालिकाले पनि योगदान गरेर प्रक्रिया अनुसार पीडितका लागि माग गरिदिने गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।


तस्वीर : अर्जुन भट्ट ।

प्रतिक्रिया दिनुहोस्