| शुक्रबार, साउन १५, २०७८

काङ्ग्रेसको अधिवेशन तयारी : ‘गाउँ, क्षेत्र र जिल्ला कमिटी गठनमा केन्द्रले हस्ताक्षेप नगरोस्’


चौधौँ महाधिवेशन नजिकिदै गर्दा नेपाली काङ्ग्रेस गोरखामा धमाधम पालिका तथा वडास्तरका भेला तथा अन्तरक्रिया हुन थालेका छन् । गत साउन तीन गतेबाट सुरु भएको क्षेत्र नं. २ को सबै पालिका तथा वडाको भेला तथा अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।


बुधबार गोरखा नगरपालिकाको वडा नं. ८ देखि १४ सम्मका नेता, कार्यकर्ताहरुको भेला सम्पन्न भयो । जिल्ला कार्यसमितिका सभापति हरिबहादुर घलेको अध्यक्षता र केन्द्रीय सदस्य कमला पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा सहभागीहरुले आसन्न वडा, गाउँ, क्षेत्र तथा जिल्ला अधिवेशनमा गुट, उपगुटको जालझेल, षड्यन्त्र प्रदर्शन नगर्न आग्रह गरेका थिए ।

‘गोरखाबाट तीनजना केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टी सभापति हुनुहुन्छ । शीर्ष नेता चिरञ्जीवि वाग्ले हुनुहुन्छ । उहाँहरुले पर्याप्त गृहकारी गरी सबै समिति सर्वसम्मत गराउनु पर्छ भन्ने सुझाव आयो’, क्षेत्रीय सभापति गोविन्द गुरुङले भेलामा उठेका महत्वपूर्ण सुझावहरु सुनाए, ‘केन्द्रीय नेताले टेलिफोन गरी कसैलाई तिमी उठ, छोड्दै नछोड भनेर अनावश्यक रुपमा उक्साउने, फुटाउने गर्नुहुन्न भन्ने सुझाव आयो । केन्द्रका नेताहरुले हस्ताक्षेप नगरुन् भन्ने सुझावहरु पनि आयो ।’

कसैले ज्येष्ठ नेतृत्वले युवालाई पुस्ता हस्तान्तरण गर्नुपर्छ भन्ने सुझाव पनि दिएका, कसैले ज्येष्ठ र युवा दुवै मिसाएर समिति बनाउनु पर्नेमा जोड दिएका गुरुङले बताए । ‘होश भएका ज्येष्ठ पुस्ता र जोश भएका युवा पुस्ता दुवै मिलेर पार्टी चलाएमा परिपक्क हुन्छ भन्ने सुझाव पनि आएको थियो’, उनले भने, ‘लोभीपापीलाई संगठनमा प्रवेश निषेध गर्नुपर्छ भन्ने राय सुझाव पनि आयो ।’


कार्यक्रममा पार्टीका सभापति हरिबहादुर घले, केन्द्रीय सदस्य कमला पन्त, सांसद मनकुमारी गुरुङ, मेयर राजनराज पन्त, गोविन्द गुरुङ, कोषाध्यक्ष कृष्ण आले, किरणबाबु श्रेष्ठ, जीवनप्रेम श्रेष्ठ लगायतका नेताहरुले र विभिन्न भातृ तथा पेशागत संघसंगठनका पदाधिकारीहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्