| शुक्रबार, साउन १५, २०७८

गोरखामा रात, साँझको समयमा सवारी दुर्घटना हुने दर बढि


गोरखामा बेलुकीको समयमा सवारी दुर्घटना हुने दर बढि रहेको छ । बिगत तीनबर्ष यता भएका सवारी दुर्घटनाको समय विश्लेषण गर्दा साँझ छ बजेपछि सवारी दुर्घटना बढि हुने गरेको पाइएको हो ।


‘सवारी दुर्घटना भएको समयको तीनबर्षको अध्ययन विश्लेषण गर्दा बिहान छ बजेदेखि दिउसो १२ बजेसम्म १५ वटा दुर्घटना भएको पाइयो’, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सई मित्रलाल ढकाल भन्छन्, ‘बाह्रबजेदेखि छ बजेसम्म २२ वटा दुर्घटना भएका छन् । साँझ छ बजेदेखि राती १२ बजेसम्म २० वटा दुर्घटना भएका छन् । बाह्र बजेदेखि बिहान छ बजेसम्म जम्मा चार वटा दुर्घटना भएका छन् ।’ संख्याको हिसाबले दिउसो भन्दा बेलुकीको दुर्घटना संख्या कम भए पनि सवारी चाप कम भएका बेला भएको दुर्घटना संख्या धेरै भएको पाइएको सई ढकालले जनाए ।


‘दिउसोको समयमा सवारी चाप बढि हुन्छ । चालकले संवेदनशील भएर चलाउँछन् तर साँझतिर, बेलुकीतिर सवारी चाप कम हुन्छ अनि अल्लि स्वतन्त्र भएर चलाउँदा दुर्घटना हुने सम्भावना बढ्छ’, उनी भन्छन्, ‘बेलुकीपख मादक पदार्थ सेवन गरेर सवारी चलाउने भएकाले पनि यो दर बढि भएको हो ।’ साथै रात, साँझको बेला लाइसेन्स नभएकाले पनि चलाउने, सडक खालि देखेर आनन्दसित चलाउँदा दुर्घटना हुने गरेको उनले बताए ।


दिनमा हुने दुर्घटना भन्दा रातमा हुने सवारी दुर्घटना जघन्य हुने ट्राफिक प्रहरी प्रमुख ढकालको भनाइ छ । ‘रातमा सडक खालि देखेपछि चालकले बढि स्पीडमा चलाउँछ अनि गम्भीर दुर्घटना हुन्छ । क्षति पनि बढि नै हुन्छ’, उनले भने ।


बिगत तीनबर्षयता गोरखामा ६१ वटा सवारी दुर्घटना भएका छन् । बिगत एक बर्षयता मात्र १७ वटा सवारी दुर्घटना भई ११ जनाको मृत्यू भएको छ ।


सवारी दुर्घटना मध्य सबैभन्दा धेरै तीब्र गतिका कारण हुने गरेको छ । बिगत तीनबर्ष यता तीब्र गतिका कारण २५ वटा दुर्घटना भएका ट्राफिक कार्यालयले जनाएको छ । ओभरटेक गर्ने क्रममा चारवटा दुर्घटना भएका छन् भने ट्राफिक नियम उल्लंघन गर्दा चार वटा दुर्घटना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्