| बिहिबार, कार्तिक ४, २०७८

गाईखुरको ऐतिहासिक मुन्नाघर

शिव उप्रेती : मुन्ना घर तामाको पाताले छाउने तयारी थियो । त्यसका लागि गोदामभरि तामाका स्लेट तयार थिए । तर श्री ३ लाई त्यो सह्य हुनेछैन, भत्काउनेछन् भन्ने जानिफकारबाट सुझाव आयो । अन्ततः मुन्नाघर जस्ताका पाताले छाइए ।


दोस्रो विश्वयुद्धको बेला थियो त्यो । तामाको भाउ बढेको र जताततै खाँचो परेकाले घर छाउन तयार गरिएको गोदामभरिका तामाका पाता डिठ्ठा अमृतबहादुरको सुझावमा बेचियो । मुन्ना घर उभिएको धेरै पछिसम्म पनि मझेरीमा, मुलओछ्यानमा, चारवटै तलाका कोठा–चोटामा यस्तै–यस्तै चर्चा चलेको थियो ।


पालुङटार नगरपालिका वडा नं. ६ गाईखुरमा उभिएको मुन्नाघर त्यतिबेला न नगरपालिकामा पथ्र्यो, न गाविसमा, न गाउँ पञ्चायतमै । २००५ सालमा भूगोलको राजनीतिक विभाजन थिएन ।


रामदत्त पन्त चारखालका डिठ्ठा थिए । देव शम्सेरका पालामा निश्कासित भएपछि उनी फर्किएर गाईखुर आएका हुन् । पछि चन्द्रशम्सेरसित उनको सम्बन्ध सुमधुर भयो । त्यही अवसर छोप्दै उनले धुवाँकोटको डाँडामा रहेको तामाखानी उत्खनन् गर्ने इजाजत लिए ।
बिसं. १९६० तिरको कुरा हो, चन्द्र शम्सेरबाट इजाजत पाएपछि उनमा खुशीको सीमा रहेन ।


वनभरि तामाका मुना फेला पारेपछि यसको उत्खनन् रामदत्त डिठ्ठाबाहेक अरुबाट सम्भव नठानी धुवाँकोटेले उनलाई खबर गरेका थिए । स्थानीय कामदारको प्रयोग गरी उत्खनन् आरम्भ गरे । पहिल्यै दिन ८२ धार्नी तामा उत्खनन् भयो ।

अपार सफलताबाट हौसिएका रामदत्त डिठ्ठाले त्यसको आसपास सिद्धबाबाको थान स्थापना गरे । त्यहाँ हरेक मंगलबार पूजा गर्ने रीत बसाले । त्यहाँ नगरा बजाउने नचर्गीलाई रातामाटेमा १० मुरीमाटो बकस दिए । त्यहाँ अहिले पनि हर मंगलबार पूजाआजा हुनेगर्छ ।


खानीभित्र अथाह तामा छ भन्ने जान्दाजान्दै उनले चार बर्षपछि उत्खनन बन्द गरे । १९६९ मा उनको देहावशान भयो । पछिका न कुनै व्यक्तिले न सरकारले यसमा रुचि देखाए ।


रामदत्तका नाति लक्ष्मीदत्त जुद्धशम्सेरका छोरा हरि शम्सेरका खासी थिए । सँधै बागदरबारमा हरि शम्सेरको खातिरदारी गर्थे ।
बरफडाँडामा रहेको घर ९० सालको भुइँचालोले भत्किएको थियो । १९९१ सालमा हाल मुन्ना घर रहेको ठाउँमा बनेको घर पनि २००४ साल फागुन ४ गते आगालागीमा नष्ट भयो । घरमात्रै जलेन, अथाह चाँदीका सिक्का, गरगहना सबै नष्ट भए ।


त्यसपछि लक्ष्मीदत्तले किर्तिपुरबाट ६ जना सिकर्मी, ६ जना डकर्मी झिकाए र बागदरबारकै शैलिमा मुन्ना घर बनाउन लगाए । किर्तिपुरका कालिगडले छ महिना खर्चेर ३५ हात लामो, १६ हात चौडा चारतले मुन्नाघर बनाए । दुई मिटर गहिरो जगदेखि दुईतलासम्म ढुङ्गाको र बाँकी दुईतला पानी इट्टाको गारो थियो । गारो ३६ इञ्च बाक्लो थियो ।


चार हजार पाँचसय रुपैयाँको लागतमा चार सुरमा चारवटा बुर्जा हालेको चार तले मुन्नाघर उभियो । जस्ताको छानोमाथि गारो लगाइएको थियो । त्यतिबेला जस्ताले घर छाउने चलन कहिँ पनि थिएन । ‘बुबामा सबै कुरा नयाँ हुनुपर्छ भन्ने सोचाइ थियो’, मुन्नाघरवाला बलराम पन्त भन्छन् ।


मुन्ना घरमा तीन पुस्ताको संयुक्त बसोबास थियो । बाजेपुस्ताका मेदिनीदत्त, बाउपुस्ताका लक्ष्मीदत्त, ओमदत्त, छोरा पुस्ताका इन्द्रदत्त, रामजी, योगदत्त र बलराम त्यहाँ बस्थे । भुइँतलामा भान्सा थियो । माथिका दुईवटा तलामा आठ कोठा थिए । सिरानको तलामा धानको गोदाम थियो ।


डाँडाको शीरमा बागदरबार जस्तो चुनासुर्की दलिएको चम्किलो मुन्नाघर चम्किएपछि जताततै चर्चाको बिषय बन्यो ।
श्री ५ र श्री ३ का दरबारबाहेक धन, दौलत छ भन्दैमा कसैले पनि व्यक्तिको घर यसरी ठड्याउने गरेका थिएनन् ।


२००६ सालमा राणाको दौडाहा आउँदैछ, निजी घर दरबार जस्तै देखे भने भत्काउँछ भन्ने हल्लाले मुन्नाघर चिन्तित भयो । तर संयोगवश, दौडाहा लुइँटेलबाट बारपिर्के, ठाँटीपोखरी, तुरतुरे हुदै पोखरा गयो । मुन्नाघर बच्यो । ‘त्यतिबेला राणा हटाउ आन्दोलन पनि बिस्तारै झ्याङ्गिदै थियो । आफैभित्रको पिरले होला, हामीतिर आँखा लगाएनन्’, मुन्नाघरको बुझाइ थियो ।


२००९ सालमा बन्दिपुरको लक्ष्मी आधार स्कूल ठेँडी पनि नछोडी गाईखुरेले उठाएर ल्याएका थिए । च्याङ्लीको पिङ पनि सोहोरेर ल्याए । पिङ बोक्न गएकाले भारी नपाएपछि त्यहाँ रहेको मान्द्रोजत्रो ढुङ्गा पनि बोकेर ल्याए । मुन्नाघरकै आडनेर राखे । त्यस ठाउँलाई मान्द्रेढुंगा भन्ने चलन अद्यपि छँदैछ ।


लक्ष्मी आधारस्कूलले २०१५ सालमा मिडिलस्कूल र २०१८ सालमा हाइस्कूलको मान्यता पायो । मुन्ना घरमा जन्मिएका बलराम पन्त त्यहाँको २०२१ सालको पहिलो ब्याचको एसएलसीमा सहभागी भए । छ जना सहभागीमध्य उनी एकजनाले मात्र प्रथम श्रेणीमा एसएसली पास गरे ।


पछि २०२६ देखि २०३६ सालसम्म उनी रोयल पाइलटको रुपमा कार्यरत रहे । उनी राजा वीरेन्द्रका पाइलट थिए । डकोटा, एभ्रो र स्काईभ्यान उनले उँडाएको देख्दा मुन्नाघर गद्गद् थियो । हरेक पटक घर आउँदा उनी हेलिकोप्टरमा आएको देख्दा मुन्नाघर गर्वले शीर ठाडो बनाउँथ्यो । ‘दशैँ, तिहार वा अन्य घरविदामा आउँदा २० पटक जति हेलिकोप्टरमा आएका थिए’, मुन्नाघर अझै सम्झन्छ, ‘घर नजिकै हेलिप्याड पनि थियो ।’


२०५५ सालदेखि सबैले मुन्नाघर त्यागे ।
मुन्नाघरका कान्छा सदस्य पूर्व सभासद सुनीलबाबु पन्तले फ्रान्स, बेलायत, अमेरिकाका विद्यार्थीहरुसँग समन्वय गरी यहाँ अनाथाश्रम चलाउने प्रयास गरे । यसले पनि मुन्नाघरलाई एकदशक भन्दा धेरै जीवन दिएन ।


इतिहास बोकेको त्यो मुन्नाघर अहिले चकमन्न छ । गारोको चेपचेपबाट पानी चुहिन्छ । २०७२ सालको भूकम्प जितेको मुन्नाघर कुनै झरीको त्रासमा छ ।

प्रतिक्रिया दिनुहोस्