| बिहिबार, कार्तिक ४, २०७८

चिनियाँ नाका खुलाइदिन परराष्ट्र मन्त्रीसँग अनुरोध

बिगत दुई बर्षदेखि बन्द रहेको चिनियाँ नाका खुलाइदिन छेकम्पारका बासिन्दाले नेपाल सरकारसँग माग गरेका छन् । चुमनुब्री गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष पासाङफुञ्जो लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई ज्ञापनपत्र पेश गरी छेकम्पार र सामागाउँका दुवै नाका खुलाइदिन माग गरेका हुन् ।


लामो समयदेखि सीमा नाका बन्द भएको र सदरमुकामबाट चुम्चेत र छेकम्पार जाने बाटो ङुयुखोलामा पहिरो गई बाटो अबरुद्ध हुँदा खाद्यान्न संकट हुनसक्ने अबस्था भएकाले चिनियाँ नाका खुला गरी खाद्यान्न आपूर्ति गर्ने व्यवस्था मिलाइदिन ज्ञापनपत्रमा भनिएको छ ।
ङुयूखोलाको पहिरो र सर्दीभीरको पहिरो अझै नियन्त्रण गर्न सक्ने अबस्था नरहेकाले सीमा नाका नखुले वडा नं. ६ र ७ मा खाद्यान्न संकट हुनसक्ने ज्ञापनपत्रमा उल्लेख छ ।


ज्ञापनपत्र बुझ्दै परराष्ट्र मन्त्री खड्काले चिनियाँ अधिकारीहरुसित छलफल गरी तीनदिनभित्र स्थानीयबासीलाई खबर गर्ने जनाएका छन् ।
कोरोनाको कारण देखाउँदै चीनियाँ सरकारले छेकम्पारस्थित ङुइला नाका र सामागाउँस्थित रुइला नाका बिगत दुईबर्षदेखि एकातर्फी रुपमा बन्द गरेको छ । बाटो अबरुद्ध हुँदा सदरमुकामबाट पनि खाद्यान्न ढुवानी गर्न नपाएको र चिनियाँ नाका बन्द हुँदा चिनियाँ बजारबाट पनि सामान ल्याउन नपाउँदा स्थानीयबासी चर्को समस्यामा रहेका छन् ।


समस्या जटिल बन्दै गएकाले केहीदिनअघि सोही प्रतिनिधिमण्डलले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटी सोही ब्यहोराको ज्ञापन पत्र पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्