| सोमवार, मंसिर १३, २०७८

जिल्ला प्रशासन कार्यालयमा ८ बजेदेखि सुरु हुन्छ लाईन

जिल्ला प्रशासन कार्यालय गोरखामा बिहान ८ बजेदेखि सेवाग्राही लाईन लाग्ने गरेका छन् । बिहान १० बजे कार्यालय खुल्ने समयसम्म सेवाग्राहीको लाइनले आँगन भरिसकेको हुन्छ ।


केहीदिन यता प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउनेको भीड लाग्ने गरेको हो । सेवाग्राहीको चाप धेरै हुँदा पालो ढिला आउने भएपछि बिहानैदेखि प्रशासन कार्यालयको हातामा सेवाग्राहीको लाईन सुरु हुन्छ ।


मंगलवार पनि दिनभरि प्रशासन कार्यालय भिड थियो । अन्य भन्दा नयाँ नागरिकता र राहदानी बनाउनेहरु धेरै रहेका कार्यालयको तथ्यांकमा उल्लेख छ ।


मंगलवार एक सय ७१ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिए भने ४० जनाले नागरिकताको प्रतिलिपि लिए । द्रुत राहदानीका लागि बिभागबाट सिफारिस लिनेको संख्या ३१ थियो भने १२ जनाले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिने गरी फाराम भरेका छन् । ७४ जनाले राष्ट्रिय परिचय पत्रका लागि बिवरण भरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


जनजाति मुस्लिम, दलित प्रमाणित सेवा १३ जनाले लिए भने १७ जनाले अन्य सिफारिस लिएका थिए । सेवाग्राहीको भिड हुँदा घण्टौँ उभिएर बस्नु परेको, कतिपयले सेवा लिन दुई दिन लागेको गुनासो गरेका छन् ।


सेवाग्राहीको संख्या उल्लेखनीय रुपमा बढ्दा पनि कार्यालयले पर्याप्त कर्मचारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही दिनदिनै मर्कामा छन् ।

प्रतिक्रिया दिनुहोस्