| सोमवार, मंसिर १३, २०७८

किन हुँदैछ देशमा राजनीतिक दुर्घटना ?


रमेशरमण खनाल : हुन त मेरो देशका नेताहरुलाई स्थानीय स्तरको साना मान्छेहरुले बोलेको सुन्ने फुर्सद पनि छैन । सुनेपनि त्यो हावामा उडाईन्छ, हावादारी गफ भनेर ठोकिन्छ । मानौँ यो देशका जिल्लास्तरदेखि केन्द्र तहसम्मैका सबै नेताहरु कुरामा पूर्ण छन्, बिज्ञ छन् ।

उनीहरुलाई हलो जोत्ने हलिदाईको, भारी बोक्ने भरियाको, माछा मार्ने माझी दाईको अनि झुत्रेमुत्रे किसान र मजदुरको सल्लाह परामर्श आवश्यक नै पर्दैन । घटनाक्रमले के देखाउँछ भने राजनीतिक दलको लेभल लागेका, बिल्ला भिरेका तिन्का कार्यकर्ताले ‘जसोजसो बाहुन बाजे त्यसै त्यसै स्वाह’ भनेझैँ केन्द्रीय नेतृत्व जे बोल्छ तलको समान्य कार्यकर्ता पनि त्यही भाषा बोल्छ ।


नकाबधारी रिसल्ला घोँडा जसरी दायाँ बायाँ नहेरी दौडन्छ, त्यसरी नै ति कार्यकर्ता अन्धभक्त बनेर यहाँ बिकास, समृद्धि, सुशासन, चुनाव, संगठनको राग अलाप्दैछन् । देशको मुल राजनीतिक मेरुदण्ड कहाँ गाँठो परेको छ ? अन्तर्राष्ट्रिय स्थिति के भएर कता अगाडि बढ्दैछ ? हामीले ल्याएको संघीय लोकतान्ीिक गणतन्त्रबाट जनताले के परिर्वतनको अनुभूति ग¥यो ? उस्को दैनिक दिनचर्यमा सुधार आयो कि आएन ? उसले अनुभुति गर्न पायो वा पाएन ? यी समग्र विषयबस्तुलाई मिहिन ढंगले मसिनो सँग केलाएर बिश्लेषण गर्नु र बोल्नु भन्दा पनि, लाग्छ ‘तै चरी डालाडालै मै चरी पातपातै’ भनेजस्तै गरी ठूला ठूला आशा र सपना बाँडेर बिकाश समृद्धि सु–शासन चुनाव, संगठनका कुरा गर्दै हिँड्ने ती तल्ला तहका कार्यकर्ता र केन्द्रदेखि जिल्लासम्मका कार्यकर्ताका कुरा सुन्दा र देख्दा ताजुब लाग्छ ।


राजनीतिक परिर्वतनबाट जनताका जिबन र दिनचार्यमा परिवर्तन अपरिहार्य छ । गाँस, बास कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, सुशासन, यी अपरिहार्य आवश्यकता परिपूर्ति नहुँदासम्म कुनैपनि राजनीतिक परिर्वतनको अनुभूति जनताले गर्दैन । हुन त नेतादेखि कार्यकर्तासम्म, राजनीतिक उपलब्धी र परिर्वतनको बखान गर्दा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, लोकतन्त्र, समानुपातिक समावेशी निर्वाचन प्रक्रियाको एैलान छाँट्ने गर्छन् ।

लालाबाला, भन्ट्याङ भुन्टुङ केटाकेटी भएको घरमा खाने चिज नभएर चुलो निभेको किसान, आर्थिक अवस्था कमजोर भएर शिक्षाबाट बञ्चित अवोध बालक, आर्थिक अवस्था कमजोर भएर उपचार नपाएर घरको पिँढीमा ऐया–ऐया भनेर छटपटाईरहेको बिरामी, सुरक्षाको अभावमा दिनहुँ जवरजस्त बलात्कारको पिडा मात्र नभएर अपराधिहरुबाट निदहुँ हत्या हुन पुगेका चेलीहरु त्यसबाट राहत अनुभूति गर्न सके त । यक्ष प्रश्न भनेको यो हो । यस तर्फ कुनैपनि सरकारको ध्यान गएको देखिँदैन । तल्लो तहका किसान, मजदुर, महिला, दलित, जनजाति जस्को आवाज दबाइएको छ सुनिँदैन पनि ।

तिनले केही पाउन सकेको छैन । बरु तिनका नाउँमा तिनै राजनीतिक दलका नेता कार्यकर्ता, बिचका अवसरबादी माफियाहरु किर्ना झैँ मोटाएका छन् । तिन्कै बोली बिकेको छ । तिनीहरु नै मौलाएका छन् । यसर्थ यो ब्यवस्था र संविधानलाई असफल साबित गर्नेहरु पनि तिनै हुन् । चाहे केन्द्र सरकार होस् या प्रदेश र स्थानीय सरकार होस् । कुनै छ आफैँ आत्मनिर्भर बनेर, जनताका टाउकोमा करको बोझ नथोपारीकन बैदेशिक ऋण वा अनुदान बिना चलेको, चलाईएको ? त्यो कुनै छैन । काँही छैन । यसर्थ पनि यो संविधान र ब्यवस्था असफल साबित भै सकेको छ ।

अत आत्म निर्भर हुने कुनै उद्योग धन्दा कलकारखाना वा कुनै स्रोत साधनलाई नै समुचित ब्यवस्थापन गर्न सकेको छ । कबल बैदेशिक ऋण र अनुदान अनि नेपाली जनताका थाप्लामा उठ्ने नसक्ने गरी करको ब्याय भारले स्थिति दिनानुदिन गिर्दो छ ।
दोस्रो सवाल संसद र सडकको यतिबेलाको तातो बहस अमेरिकन अनुदान सहयोग एमसीसी । चार वर्ष अगाडी एमसीसी परियोजना लागु गर्ने सम्झौता भएको छ ।

कार्यालय स्थापना भएको छ । कर्मचारी भर्ना, जग्गा अधिग्रहण लगायतका काम भै सकेका छन् । आन्तरिक सुरक्षा, राष्ट्रिय अस्मिता, राष्ट्रिय स्वाधिनताको कारण देखाउँदै स्वतन्त्र नागरिक अगुवाहरु राष्ट्रको हित चाहने हरेक किसान मजदुर, वुद्धिजीवि, प्राध्यापक, वकिल, कलाकार, पटक पटक मैदानमा अ‍ेर्लिएको छ देश भित्र । देश बाहिर छिमेकी मित्र राष्ट्र चिन सरकारको एमसीसीको बिरुद्धमा खुलेर आईसकेको छ ।


एमसीसी परियोजनामा खर्च हुने रकम को दोब्बर÷तेब्बर नेपालको बिकासे परियोजनामा खर्च गर्न तयार छ र एमसीसी कुनै पनि हालतमा चीनका सुरक्षा, नेपालका सुरक्षाका दृष्टिले पारित गर्नु हुँदैन । पारित गरे काम गर्न नदिनेसम्मका अभिब्यक्तिहरु सार्वजनिक गरिसकेको छ उत्तरी छिमेकी भने । नेपालका नेताहरु एमसीसीका बारेमा बिहान, दिउँसो र बेलुकी छुट्टाछुट्टै अभिब्यक्ति दिन्छन् र अहिले पछिल्लो चरणमा आएर सबै पार्टीका शिर्ष नेताका एउटै बोली छन् ।

याथास्थितिमा पारित गर्नुपर्छ याथास्थितिको बाक्यांस किन झुण्ड्याईरहेको छ भने, उत्तरी छिमेकीलाई थामथुम पार्न र एमसीसी बिरुद्ध सडकमा बलेको आगो मत्थर पार्न त्यो वाक्यांश जोडिएको छ । तर त्यस्ले न त नेपाली जनताको चित्त बुझ्नेवाला छ । ठुला पार्टी भनिएका हरेक दलका नेताहरु कुनै न कुनै हिसाबले एमसीसीसँग चुकेका छन् । कुनै न कुनैबाटोबाट एमसीसी परियोजना लागु गर्ने पक्षमा छन् । यदी मुलकमा एमसीसी परियोजना लागु भयो भने न त उत्तरी छिमेकी चुपचाप रहनेवाला छ, न त स्वाभिमानी नेपाली जनता नै चुप चाप रहनेवाला छ ।

यदि एमसीसी परियोजना लागु भएन भने हरेक दलका शीर्ष नेतृत्वमाथि अमेरिकी हस्ताक्षेप र सुरक्षाको खतरा देखिन्छ । यसरी एउटा यथास्थितिको गोल चक्करमा रुमलिएको छ अहिलेको राष्ट्रिय परिवेश ।
यता आन्तरिक रुपमा जनताले अनुभूत गर्ने खालका कुनैपनि काम हुन नसक्नु बाह्य हिसाबले छिमेकीहरु चिँढिदै जानु भनेको बैदेशिक हस्ताक्षेपलाई खुलम्खुल्ला आह्वान गर्नु हो । यसले मुलुक एउटा चरम द्वन्द्व र मुटभेडको तम्तयारीमा प्रवेश गरिसकेको कुरा थोरै पनि राष्ट्रभक्ति र मोह भएको नेपाली जनताले बुझ्नै पर्छ ।


यो तथ्यले पनि यो ब्यवस्था संविधान असफल साबित भै सकेको छ । जनताममा यो ब्यवस्थाप्रति ब्यापक बितृष्णा, घृणा, जागिसकेको छ । यो यथास्थितिको चक्रब्यूहुमा फसेको ब्यवस्था, राजनीतिक दललाई कसैले सफल देख्छ, अब्बल र उत्कृष्ठ ठान्छ भने र दुनियाँलाई त्यो भ्रम दिन खोज्छ भने त्यस्ता पात्रहरु कुनै न कुनै हिसाबले यसभित्र बसेर दोहन गरेर बढुवा, अनुदान, भत्ता र तलबमा निर्लिप्त अवसरबाद र बिचौलियाहरु जस्ले यस्तालाई दुहुना गाई बनाउन पाएको छ त्यो दल, तिनका नेता कार्यकर्ता, र त्यससँगै जोडिएको बिचौलिया, अबसरबादले नै सफल देखेकोको छ र उत्ताउलो प्रवृत्तीको प्रदर्शन गरी रहेको छ ।

यो कुरा सास्वत याथार्थलाई देशको जनताको माया गर्ने, हरेक किसान, मजदुर, पछाडि पारिएका बर्ग, समुदाय सबैले बुझिसकेका छन् र बुझ्न जरुरी पनि छ । बलभद्र कुँवर, भिमसेन थापा, विषे नगर्ची जस्ता महान पूर्खाहरुले जोगाएर आर्जेको यो मुलकले बैदेशिक हस्तक्षेप कुनैपनि हालतमा स्वीकार्न सक्दैन र यथास्थितिमा यो मुलकमा न त जनताको दिनचार्यमा सुधार आउने छ न त कुनै चामत्कारिक परिर्वतन नै हुनेछ । त्यसैले यो देशमा अब छिट्टै नै राजनीतिक दुर्घटना र फेरी एक पटक मुठभेड हुनेछ । त्यस्को जिम्मेवार तिनै राजनीतिक दलका नेता हरियोलाई पहेँलो देख्ने कार्यकर्ता र जब्बर बनेर आएको बिचौलिया, अबसरदवाद नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्