| सोमवार, मंसिर १३, २०७८

दुई वर्षपछि आँबुखैरेनीको आँधीमूलमा आज भव्य एकादशी मेला लाग्ने

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो ।

कोरोना कहरका कारण गत वर्ष यहाँ मेला भर्न रोक लगाइएको थियो । एकादशी मेलाका दिन यहाँ हजारौँको सङ्ख्यामा भक्तजनको भीड लाग्ने वडाध्यक्ष किसान थापाले जानकारी दिनुभयो । पृथ्वीराजमार्गको सत्रसयबाट २० मिनेटको दूरीमा आँधीमूल पुग्न सकिन्छ ।

आँधीमूल मन्दिरको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधीमूलस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिस टाढाटाढादेखि आउने गर्छन् । यो मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन पनि रहेको छ ।

गाउँपालिकाले धार्मिक पर्यटकीय गन्तव्य आँधीमूलको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको छ । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेल्ने माछा यस तीर्थस्थलको प्रमुख आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्यरुपमा संस्कार ९काजक्रिया० गर्नुपर्ने प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ । मन्दिरका पुजारी युवराज मास्के मगरका अनुसार दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका ११० पर्यटकीय गन्तव्यमध्येमा आँधीमूललाई राख्दै यसको विकासका लागि पनि चासो दिएको छ ।

प्रतिक्रिया दिनुहोस्