| सोमवार, मंसिर १३, २०७८

गोरखा सदरमुकाममा सघन सरसफाइ अभियान : फोहर प्रशोधनशाला बनाउने तयारी

गोरखा बजारको सरसफाइको जिम्मेवारी लिएको ‘क्लिन गोरखा प्रालि’ले फोहर सिनित्तै पार्ने सघन सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रालिले केही दिनयता सडक किनारका दुबो, मोथे लगायतका झार पनि चिम्टे औलाले उखाल्न थालेको छ ।
प्रालिले गोरखा नगरपालिकासित सम्झौता गरी स्थानीयसित शुल्क लिएर फोहर संकलन गर्न थालेको हो ।


‘सघन सरसफाइका लागि हामीले १२ जना नयाँ कामदार भर्ना गरेका छौँ’, प्रालिका सञ्चालक भगवानबाबु मास्केले भने, ‘उनीहरुलाई दैनिक तीन समूह बनाएर दिनभर तीनवटा फरक फरक ठाउँमा फोहर संकलन गर्न लगाएका छौँ । अब केही दिनभित्र अरु तीन समूह थप गरी छ समूह बनाएर परिचालन गर्नेछौँ ।’


फोहर ढुवानी गर्नका लागि एउटा ट्रयाक्टर र एउटा ट्रक सञ्चालनमा छ । आवश्यक परेमा अझै कर्मचारी र फोहर ढुवानी गर्ने गाडी थप गर्ने योजना प्रालिले बनाएको छ ।


प्रालिले बजारबाट गल्ने र नगल्ने फोहर अलग अलग संकलन गर्दैछ । गल्ने फोहरलाई प्रशोधन गरेर मल बनाइने र नगल्ने फोहरलाई प्रशोधन गरी पुनप्र्रयोग गर्ने तयारी गरिएको सञ्चालक मास्केले बताए । ‘फोहरबाट मोहर बनाउने हाम्रो लक्ष्य हो’, उनले भने, ‘शुक्रबार टोल विकास संस्थाका अध्यक्षहरुसित बैठक हुँदैछ । कसरी अघि बढ्ने भन्ने बारे विस्तृत छलफल गरी अघि बढ्नेछौँ ।’


नगरपालिकाले अहिले प्रयोग गर्दै आएको ल्याण्डफिल्डसाइट परिवर्तन गर्ने पनि क्लिन गोरखाले जनाएको छ । ‘अर्को ठाउँमा ल्याण्डफिल्डसाइट बनाउन जग्गा खोजी गरिरहेका छौँ’, उनले भने, ‘नयाँ ठाउँमा जग्गा पाएपछि प्रशोधनशाला सहितको ल्याण्डफिल्डसाइट बनाउनेछौँ ।’


प्रालिले आँबुखैरेनीदेखि गोरखा बजारसम्मका सबै टोलबासीलाई फोहर संकलन गरेर निश्चित ठाउँमा राख्न आग्रह गरेको छ । ‘तत्कालका लागि हामीले गोरखा सदरमुकाम बजारमा मात्र सरसफाइ गरेका छौँ, अब खैरेनीदेखि गोरखा बजारसम्मको फोहर उठाउनेछौँ’, मास्के भन्छन्, ‘प्रत्येक घरधनीले फोहर उठाएर निश्चित ठाउँमा बोरामा पोको पारेर राख्नेछन् । हाम्रा कामदारले त्यसलाई उठाएर डम्पिङ साइटमा पु¥याउनेछन् ।’


ग्रामीण सडकबाट आएका गाडीले जथाभावी फोहर गरिदिँदा समस्या उत्पन्न भएको प्रालिको भनाइ छ । ‘गाडीले निश्चित ठाउँमा फोहर बढारेर थुपारेर राखिदिए हुन्थ्यो तर जहाँ पायो त्यहीँ बढारेर फोहर असरल्ल बनाएर छाड्दा समस्या भएको छ’, प्रालिका संचालक मास्के भन्छन्, ‘अहिले तत्काल नगरपालिकाबाट छ महिनाका लागि निश्चित प्रतिशत नगरपालिकालाई तिर्ने गरी घरधनी, व्यवसायधनीसित शुल्क उठाउन सुरु गरिएको छ । अब यसलाई कम्तिमा पाँच बर्षसम्म लम्ब्याउनेछौँ ।’ सदरमुकामको भित्रि बस्तीसम्म पनि फोहर उठाउने गाडी लैजाने बारे शुक्रबार टोल विकास संस्थाका अध्यक्षहरुसितको बैठकले निर्णय गर्ने मास्केले बताए ।

प्रतिक्रिया दिनुहोस्