| सोमवार, मंसिर १३, २०७८

विप्लव नेतृत्वको नेकपाद्वारा फेरि चन्दा माग

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले फेरि चन्दा अभियान सुरु गरेको छ । लामो समय भूमिगत रहेर खुल्ला भएलगत्तै सो पार्टीले गोरखाका व्यापारी, व्यवसायीहरुसँग आर्थिक सहयोग मागेको हो ।


पार्टीका जिल्ला सेक्रेटरी ‘प्रतीक’द्वारा हस्ताक्षर गरिएको सो पत्रमा संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि आफ्नो पार्टी लडिरहेकाले सहयोग गर्न भनिएको छ । ‘हामी सच्चा कम्युनिष्ट, देशभक्त, लोकतान्त्रिक शक्तिलाई अग्रगामी निकासको पक्षमा नैतिक, भौतिक, आर्थिक सहयोग, ऐक्यवद्धता, समर्थन र सल्लाह सुझावको अपेक्षा गर्दछ’, व्यपारी, व्यवसायीलाई पठाइएको पत्रमा भनिएको छ ।


‘पैसा मागेर पार्टीको लेटरप्याडमै चिठी पठाएका छन्’, एक व्यापारीले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, ‘तर मैले दिएको छैन, दिन्न पनि । चन्दा दिएन भनेर अब पनि फेरि काट्न सक्दैनन्, मार्न सक्दैनन् ।’


‘स्वेच्छिक’ रुपमा मागिएको तर कर, बल नगरिएको सेक्रेटरी प्रतीकले बताएका छन् । ‘मंसीर आठ गते हुने भनिएको पार्टीको स्थापना दिवस मनाउनका लागि अर्थ संकलन गरिएको हो’, उनले भने, ‘स्वेच्छिक आव्हान गरिएको मात्र हो । कसैलाई करकाप पनि गरिएन, जोड, बल पनि गरिएन ।’ तर पार्टीको स्थापना दिवस पूर्व निर्धारित स्वरुपमा नगरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्