| सोमवार, मंसिर १३, २०७८

उत्तरी गोरखाको समस्या तत्काल समाधान गर्न प्रजिअलाई ध्यानाकर्षण पत्र

उत्तरी गोरखाको समस्या तत्काल समाधान गर्न प्रजिअलाई ध्यानाकर्षण पत्र
उत्तरी गोरखाका बासिन्दाको समस्या तत्काल समाधान गर्न नागरिक साझा सवाल गोरखाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विहिबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


चुमनुब्री गाउँपालिका ६ को लोक्पामा गएको पहिरोका कारण साविकको चुम्चेत र छेकम्पार गाविस क्षेत्रका करिब ७ सय परिवार तीन महिना देखि गाउँमै थुनिनुपरेको र स्थानीयहरु अहिले खाद्यान्न जोहो गर्न पहिरोको प्रवाह नगरी ज्यान जोखिम मोलेर त्यस क्षेत्रका बासिन्दाले यात्रा गर्न बिवश भइरहेकाले पहिरो दिर्घकालीन रुपमा नियन्त्रण गर्ने गरी प्रकृया अघि बढाउन र खाद्यान्न समस्या समाधानका लागि पहल गरिदिन प्रजिअ आचार्यलाई पत्र मार्पत अनुरोध गरिएको छ ।


त्यस्तै, चुमनुब्री गाउँपालिका ३ सल्लेरी गाउँका बुढीगण्डकी प्रभावित ६ घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरी उचित राहतको व्यवस्था गरीदिन, चार महिना देखि उत्तरी गोरखामा खाद्यान्न ढुवानी नभएकाले तत्काल ढुवानीको व्यवस्था मिलाइदिन समेत प्रजिअलाई अनुरोध गरिएको छ ।


त्यस्तै, आरुघाट गाउँपालिका सोतीदेखि धार्चे गाउँपालिका केन्द्र माछाखोलासम्म नीजि बोलेरो, जीपहरु रुट परमिटबिना मनलाग्दी भाडा असुल्दै जोखिमपूर्ण यात्रा गराइरहेकाले तत्काल समस्याको समाधान लागि पहल गरिदिन समेत प्रजिअ आचार्यलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्