| शनिबार, बैशाख ८, २०८१

कमिलालाई नाङ्लो उपाहार जस्तो नहोओस् गोरखा अस्पताल

३७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गोरखा अस्पतालको सुविधा सम्पन्न नयाँ भवन शुक्रबार एक समारोहका बीच हस्तान्तरण गरिएको छ । ठेकेदारको अधीनमा रहेको भवन अब गोरखा अस्पताल प्रशासनको अधिनमा भएको छ । यो एक सुखद समाचार हो ।

यद्यपि यसले गोरखाबासीमा आंशिक खुशीको संचार त गर्छ, धेरै खुशी हुने ठाउँ दिएको छैन किनभने यहाँ दक्ष जनशक्ति र पर्याप्त उपकरण छैन भन्ने आम संचरण भइसकेको छ । जम्मा दुई जना मेडिकल अधिकृतले ५० शैयाको अस्पताल कसरी चल्छ ? भन्ने जनमनमा छ ।

नयाँ भवन बनेसंगै अस्पताल अब बेजोडले सञ्चालन हुन्छ भन्ने आशाको दियो जलेको थियो, तर अहिले अस्पताल जनशक्ति र उपकरणका हिसाबले दरिद्र छ भएको खबरले आशाको दीपशिखा मधुरो छ ।

अस्पतालमा आउने चिकित्सकहरु काम गर्ने वातावरण राम्रो नहुँदा नटिक्ने, सरुवा वा राजिनामा दिएर छाड्न मात्र खोज्ने गर्छन् । समितिले रचनात्मक काम गर्न नसक्नु, अजीर्ण बनेर रहेको किचलोले समिति र अस्पताल प्रशासनलाई काम गर्ने वातावरण उपलब्ध नहुनु आदि कारणले अस्पतालले गति लिन नसकेकोमा दुई मत छैन ।

सरकारले पनि आफ्ना निकटकालाई अध्यक्ष बनाउने ध्येय मात्र राख्छ, सक्षम, दुरगामी र रचनात्मक क्षमता भएको व्यक्तित्व खोजेर समिति बनाउँदैन । यसकारण पनि अस्पताल सँधै बिरामी हुन्छ । ‘राम्रा भन्दा हाम्रा’ अध्यक्ष बनाएर मात्र अस्पताल व्यवस्थापन सुदृढ हुदैन भन्ने जो कोहीलाई थाहा छ तर सरकारले ‘हाम्रा’ अध्यक्ष मात्र लाद्छ ।

दरबन्दी अनुसारको(एघारौँ तहका) डाक्टर मेडिकल सुपरीटेण्डेण्ट नभएको पनि तीन बर्ष भइसक्यो । काम चलाउ(निमित्त) मेडिकल सुपरिटेण्डेण्टले मात्र ५० शैयाको अस्पताल चलाउने दुश्प्रयास गर्ने सरकारी निकम्मापनले पनि अस्पताल उँभो लाग्न नसकेको हो ।
यो अबस्थामा अस्पतालले ३७ करोड रुपैयाँको भवन पाएको छ । यो कमिलालाई नाङ्लो उपाहार दिए जस्तो नबनोस् ।

प्रतिक्रिया दिनुहोस्