| सोमवार, असार १३, २०७९

लिगगिकोटमा घुम्न आउनेहरुको घुँईचो

मदन लोहनी :
गोरखाको पालुङटार नगरपालिका २ स्थित लिगलिगकोट मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या हिजोआज बढ्न थालेको छ ।
नेपालको उद्गम थलो लिगलिगकोट र त्यहाँ रहेको ठूलो राष्ट्रिय झण्डा हेर्न आउने पर्यटकहरु दिनप्रतिदिन बढ्दै गएको स्थानीयहरु बताउँछन् ।
‘अहिले भ्रमणको सिजन हो, यहाँ दैनिक एक हजार भन्दा बढी पर्यटक घुम्न आउँछन्, यसले स्थानीयहरुको व्यापार ब्यवशाय पनि राम्रोसँग चलेको छ’ स्थानीय गेहेन्द्रबहादुर रानाले भने ।

तस्बिर : सौनक घिमिरे


बिदाको दिन अझै धेरै संख्यामा युवाहरु घुम्न आउने गर्छन । विद्यार्थीहरु पनि लिगलिगे दौड गरेर राजा हुने ठाउँ लिगलिगकोट हेर्न, त्यहाँ फोटो खिच्न, दृष्यावलोकन गर्न मानिसहरु आउने गर्छन् ।


लिगलिगकोटमा ४० फिट अग्लो नेपालको झण्डासँग फोटो खिच्न र टिकटक बनाउन समेत भिड लाग्ने गरेको रानाले बताए । यहाँबाट मनास्लु, हिमालचुली, गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रेलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ ।


पर्यटक आगमनको संख्या बढेसँगै स्थानीय व्यापार व्यवसाय समेत चलायमान बनेको छ । नेपालको इतिहासको प्रारम्भ बिन्दु नै लिगलिगकोट भएकाले पनि यहाँ आउने पर्यटकको संख्या बढेको हो । पर्यटकको संख्या वृद्धि भएपछि उनीहरुका लागि आवश्यक पुर्वाधार निर्माण पनि स्थानीय सक्रिय भएका छन् । अवलोकन र पिकनिकका लागि त्यहाँ जाने पर्यटकहरुलाई लक्षित गरी पिकनिक स्पोट निर्माण गरिएको छ ।


लिगलिगकोट समुद्री सतहदेखि चौधसय सैतीस मिटर (४७९० फिट) उचाईमा रहेको छ । आजभन्दा ४५१ वर्ष (वि.सं. १६१६, सन् १५५९) अघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा हुने परम्परा थियो ।

यहाँ राजा हुने प्रक्रिया विश्वकै नौलो र ऐतिहासिक थियो । यसलाई विश्वको पहिलो नमुना लोकतान्त्रिक शासन व्यवस्थाका रूपमा लिन सकिन्छ । यस्तो ऐतिहासिक शासन व्यवस्था द्रव्य शाहको उदय पश्चात अन्त भएको पाईन्छ ।

No description available.