| शुक्रबार, बैशाख २१, २०८१

उनीफेल्ट उत्पादक तथा निर्यात संघद्वारा मणिकामदेवी माविका विद्यार्थीलाई सहयोग


नेपाल उनीफेल्ट उत्पादक तथा निर्यात संघले मणिकामदेवी माविका छात्रबासका विद्यार्थीलाई ओढ्ने, ओछ्याउने सामग्री प्रदान गरेको छ ।


आइतबार विद्यालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष नरेशलाल श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशबहादुर गुरुङलाई सामग्री हस्तान्तरण गरेका हुन् । संघका उपाध्यक्ष राजेन्द्र पराजुली र रेबिका पराजुलीको संयोजनमा भएको सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले ३५ थान सिरक, ३५ थान डसना र ३५ थान तन्ना प्रदान गरेका हुन् ।साथै ७० थान सिरानी र ७० थान गम्सा पनि प्रदान गरिएको उपाध्यक्ष पराजुलीले जानकारी दिए । सो कार्यक्रममा संघले तीनसय थान उनीको टोपी पनि प्रदान गरेका थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष महेश्वर श्रेष्ठ, अमोघ धाख्वा, चक्रमणि देवकोटा र उपाध्यक्ष पराजुलीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


साथै कार्यक्रममा संघका महासचिव विशाल कुमाल, सचिव प्रभुकुमार कार्कीले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । संघका विपत व्यवस्थापन कोषबाट मणिकामदेवी माविका विद्यार्थीलाई सहायता सामग्री प्रदान गरिएको पराजुलीले बताए ।


सो अवसरमा संघका उपाध्यक्ष तथा एभरेष्ट फेसनका संचालक महेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई सहयोगस्वरुप ५० हजार रुपैयाँ प्रदान गरेका थिए । हरेक बर्ष सो छात्राबासका लागि ३० हजार रुपैयाँका दरले नियमित सहयोग प्रदान गरिने उपाध्यक्ष पराजुलीले बताए ।


जनता समाजवादी पार्टीका गोरखा जिल्ला उपाध्यक्ष तथा संघीय परिषद सदस्य पराजुलीले यसअघि पनि गोरखाका विभिन्न ठाउँमा राहत तथा सहयोग सामग्री प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्