| सोमवार, असार १३, २०७९

मेरो निर्देशनले गोरखामा ९ पालिका जितेर राम्रो उदाहारण पेश गर्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० मा भएको स्थानीय तह चुनावमा गोरखामा ११ मध्ये ९ पालिका माओवादीले जितेर राम्रो उदाहरण पेश गरेको बताएका छन् ।

सत्ता गठबन्धनबीच गोरखामा चुनावी गठबन्धन गर्न खोज्दा माओवादीलाई सम्मानजनक सिट नदिइएको र एक्लै उठ्न आफूले दिएको निर्देशनअनुसार पार्टीका उम्मेदवारहरू जितेको प्रचण्डको भनाइ थियो ।

बुधवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ०७४ मा हारेका पालिकामा यसपालि माओवादीले जितेको पनि बताएका थिए ।

‘यो पटक गोरखाले नयाँ उदाहरण प्रस्तुत ग¥यो। त्यहाँ गठबन्धन गर्न निकै कसरत भयो । तर गठबन्धन गर्दा हामी माओवादीलाई अलि बढी नै अबमूल्ययन गर्ने र धेरै नै अपमानित गर्ने देखेपछि मैले त्यहाँका कमरेडहरूलाई भने– अलि दह्रो आत्मविश्वासका साथ एक्लै चुनाव लड्न जानुभयो भने बढी जितिन्छ। अन्ततः ११ मा ९ स्थानीय तह माओवादीले जित्यो,’ उनले भने ।

साथै उनले गोरखामा जिसस पनि माओवादीले एकलौटी जितेको बताएका थिए । ‘पहिले क्षति भएको पालिका अहिले करिबकरिब पूर्ति हुने गरी एकलौटीजस्तै बनाउनुभयो,’ उनले भने, ‘११ मा ९ पालिका जित्ने, जिसस र सबै कार्यपालिका माओवादीले बनाउने भन्ने कुरा राम्रो उदाहरण गोरखामा प्रस्तुत भयो ।’

गोरखामा माओवादीले जितेका ९ पालिकामध्ये गोरखा नगरपालिका र गण्डकी गाउँपालिकामा जसपासँग गठबन्धन गरेको थियो । तर यी ठाउँमा गरिएका गठबन्धनबारे भने प्रचण्डले उल्लेख नै गरेनन् ।

प्रतिक्रिया दिनुहोस्