| शनिबार, जेष्ठ ५, २०८१

गोरखा नगरपालिका बेरुजु : बिना प्रतिष्पर्धा सिधै खरिद गर्नेको संख्या धेरै

आर्थिक बर्ष २०७७।०७८ मा गोरखा नगरपालिकाको बेरुजु रू दुई करोड ९५ लाख २५ हजार बेरुजू देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखा परीक्षणमा सो पालिकाको कूल बजेटमा यो १.४२ प्रतिशत हो ।

स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका कमी कमजोरी नगरपालिकाको लेखापरीक्षणका क्रममा भेटिएको छ ।
गोरखा नगरपालिकाले सार्वजनिक खरिद नियमावलीले तोकेको आधारमा लागत अनुमान स्वीकृत गराई खर्च गर्नुपर्नेमा द ओसन क्लवको आर्टिफिसियल टर्फ निर्माणमा र आउटडोर जिमखानाका लागि सामग्री खरिद गर्दा हचुवाका भरमा सिधै खरिद गरेको छ । यसमा २९ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

सार्वजनिक निकायले रनिङ बिल वा अन्य कुनै निकायमो बिल भुक्तानी गर्दा करारको शर्तअनुसार प्राविधिक नापजाँच बमोजिम बास्तविक कार्य सम्पादनको अधारमा भुक्तानी दिनुपर्ने उल्लेख छ । तर गोरखा नगरपालिकाको दर निर्धाणमा वृन्दावन होटल र भीमसेनपार्कमा भएको दर विश्लेषणमा फरक पर्न गएकाले एकलाख ६१ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने देखिएको छ ।

गोरखा नगरपालिकाले सिमेण्ट र इट्टाको मूल्यमा भ्याट बिलमा भन्दा बढि मूल्य निर्धारण गरी खरिद गरेको छ । विभिन्न ५६ वटा योजनामा सिमेण्ट खरिद गर्दा बढि मूल्य भुक्तानी गरेको ७९ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ भने छ वटा योजनामा इट्टा गरिद गर्दा भ्याट बिलमा उल्लेखित मूल्य भन्दा बढि मूल्य राखेर दररेट निर्धारण गरेको छ । यसबापत बढि मूल्य पर्न गएको पाँचलाख १९ हजार बेरुजु देखिएकाले नियमानुसार असुलउपर गर्न महालेखाले सुझाएको छ ।

त्यस्तै पालिकाले कोटेशन बेगर बिना प्रतिस्पर्धा लागत अनुमान निकाली विभिन्न तीन वटा कार्यक्रम सञ्चालन गरिएको छ । त्यसमा कोटेशनमा उल्लेखित दर भन्दा बढि भुक्तानी दिएकाले ६३ हजार रुपैयाँ बेरुजु निस्किएको छ । त्यस्तैगरी विभिन्न पाँच वटा योजनामा बिलमा समावेश भएको भन्दा बढि मूल्य भुक्तानी दिएकाले एकलाख ४० हजार रुपैयाँ बेरुजु देखाएको छ । याङकोट डिपबोरिङ खानेपानी योजना सञ्चालन गर्दा उपभोक्ता समितिले पेश गरेको भ्याट बिलमा उल्लेख भएको भन्दा बढि रकम भुक्तानी गरिएको छ । सो बापत बढि भुक्तानी भएको बेरुजु एकलाख २८ हजार असुल उपर गर्न महालेखाले आग्रह गरेको छ ।

त्यस्तै द ओसन क्लवको खेलकुद मैदानमा, चिसोखोला स्याउली बजा खानेपानी मुहानमा र गोप्लिङ खेलकुद मैदानमा प्रयोग भएको तारजाली खरिदमा तोकिएको मूल्यभन्दा एकलाख २९ हजार बढि भुक्तानी गरेको पाइएकाले सो रकम फिर्ता गर्न भनिएको छ । चारवटा स्वास्थ्य चौकीलाई बिल भरपाइ नै नगरी १० हजार रुपैयाँका दरले भुक्तानी गरेको छ । त्यसबापतको ४० हजार रुपैयाँ पनि बेरुजु देखिएको उल्लेख गरिएको छ ।

पालिकाले त्यसबर्ष पुँजीगत तथा चालु किसिमका बस्तु वा सेवा खरिद गर्दा प्रतिष्पर्धात्मक विधि नअपनाई छ वटा व्यापारिक पसलसित सोझै खरिद गरेकाले २२ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ । गोरखा नगरपालिकाले एकलाख ९९ हजार रुपैयाँ बराबरका सामग्री खरिद गरेको तर खर्च पुष्टि गर्ने बिल, भरपाईजस्ता प्रामाणिक कागजात पेश नगरेकाले सो रकम बेरुजु देखाएको छ । शिखरडाँडा स्याउली लिफ्टिङ खानेपानी योजनामा जम्मा रु ४१ को बिल भरपाई पेश भएकोमा नगरपालिकाले ६५ हजार रुपैयाँ भुक्तानी दिएको छ । रु. २३ हजारको बिल भरपाई पेश नभएको हो वा नगरपालिकाले बढि भुक्तानी दिएको हो स्पष्ट नभएकाले महालेखाले सो रकमलाई बेरुजु ठहर गरेको छ ।

बहुउद्देश्यीय भवन निर्माणको क्रममा सम्झौता भन्दा बढि समय लागेको अबस्थामा दैनिक ०.५ प्रतिशतका दरले जरिबाना लिनुपर्नेमा नलिएकाले १९ हजार रुपैयाँ बेरुजु देखाइएको छ । विभिन्न पाँच वटा विद्यालयको कक्षाकोठा तथा सौचालय भवन निर्माण गर्दा निर्माण सम्पन्न प्रतिवेदन नै पेश नगरी रकम भुक्तानी भएकाले ८९ लाख रुपैयाँ बेरुजु सावित भएको छ । बिगत बर्षदेखिका पेश्कीहरु फस्र्यौट नभएकाले जम्मा हुन आएको २३ लाख ५४ हजार रुपैयाँ पेश्की रकम बेरुजु देखिएको छ ।

नगरपालिकाभित्रका सबै विद्यालयहरुलाई सामाजिक तथा आर्थिक लेखा परीक्षण गर्न नगरपालिका कार्यालयले रकम उपलब्ध गराउने गर्छ तर त्यसबर्ष २० वटा विद्यालयहरुले सो लेखा परीक्षण प्रतिवेदन पेश नगरेकाले ती विद्यालयहरुलाई भुक्तानी दिएको दुईलाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

गोरखा नगरपालिकाभित्रका विभिन्न २१ वटा विद्यालयहरुले पाठ्यपुस्तक खरिदका लागि प्राप्त रकमबाट पाठ्यपुस्तक खरिद गरे नगरेको प्रमाण पेश नगरेकाले त्यसबापतको एकलाख १३ हजार रुपैयाँ पनि बेरुजु बनेको छ ।

प्रतिक्रिया दिनुहोस्