| शनिबार, जेष्ठ ५, २०८१

छेपेटारको ठुटेबजारमा बहुउद्देश्यीय ताल निर्माण हुने, पर्यकीय हब र सिंचाईको योजना

केशब गुरुङ :

गोरखा नगरपालिका वडा नं १० छेपेटार स्थित ठुटेबजारमा बहुउद्देश्यीय ताल निर्माण हुने भएको छ । ठुटे बजारलाई पर्यटकी क्षेत्रका रुपमा विकास गर्न र छेपेटारभन्दा तलका ठूला फाँटहरुमा सिंचाई सुविधा सहज बनाउने उद्देश्यले गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको साझेदारीमा ताल निर्माण गर्न लागिएको हो ।

सरकार, पव्लिक प्राइभेट पार्टनरसिप मोडलमा कार्यक्रम गर्न लागेको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । ‘यो ताल मल्टिप्रोपोजयुक्त हुन्छ, चालुवर्ष आवश्यक पूर्वाधार निर्माणका लागि एक करोड विनियोजन गरेका छौँ । तर यतिले मात्र पुग्दैन, लगानीकर्ता खोजिरहेका छौँ’, मेयर रानाले भने, ‘यहाँ ठूलो ताल बनेपछि गोरखा र पालुङ्टार नगरपालिका दुबैतर्फका फाँटमा सिंचाई गर्नका लागि धेरै सहज हुन्छ, त्यसका लागि कुलो निर्माण गर्छौैँ ।’ तालमा बालुवा पनि थेग्रिने भएकाले नगरपालिकाले वार्षिक रुपमा बालुवा बेचेर पनि आम्दानी गर्न सकिने उनले बताए ।

No description available.

छेपेटारको ठुटे बजारदेखि दरौँदी पुलसम्म बन्न लागेको उक्त तालका लागि चालुवर्ष एक करोड बजेटले केही पूर्वाधार निर्माण सुरु हुने उनले बताए । तर ताल निर्माणका लागि धेरै बजेट चाहिने भएकाले नगरपालिकाले लगानीकर्ता खोजी गरेको जनाएको छ ।
बहुउद्देश्य ताल निर्माण हुने भएकाले यसबाट धेरै फाइदा लिन सकिने उनको भनाइ छ । तालमा व्यवासायिक रुपमा माछापालन गर्नुका साथै डुङ्गा चलाउन सकिन्छ । त्यस्तै, ताल वरिपरि होटल र रेष्टुराँ लगायतका पूर्वाधार निर्माण हुनेछ । यसबाट ताल क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न धेरै मद्धत पुग्ने बताइएको छ ।

ताल निर्माणका लागि डिपिआर बनिसकेको तर केही हेरफेर गर्न बाँकी रहेको मेयर रानामगरले बताए । उनका अनुसार डिपिआरमा तय भएअनुसार तालसँगै आवश्यक भौतिक संरचना निर्माणका लागि करिब ५० करोड लाग्ने अनुमान गरिएको छ । यदि लगानीकर्ताहरुबाट समयमै आर्थिक स्रोत जुटेमा आगामी चार वर्ष भित्र ताल निर्माण सम्पन्न हुनेछ । गोनपा, पानपा, प्रदेश, संघ, समुदाय र निजी क्षेत्रबाट लगानीकर्ता खोजि रहेको उनले बताए ।

No description available.

ठुटेबजारमा ताल निर्माण कार्य यी दुई नगरपालिको मात्र नभै गण्डकी प्रदेशकै गौरवको आयोजना बन्न सक्ने अपेक्षा गरिएको छ । त्यसैले प्रदेश र राष्ट्रिय योजना आयोगमा आवश्यक बजेट विनियोजनका सिफारिस गरेर पठाइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले बताए ।

गोरखा नगरपालिकाको क्षेत्रबाट सबै सार्वजनिक जग्गा रहेको र पालुङटार नगरपालिकातर्फ भने १८ रोपनी खेत निजी जग्गा परेकाले सो जग्गा खरिद गर्नुपर्ने उनले बताए । हाल कति क्षेत्रफलमा, कुन मोडलमा ताल कसरी बनाउने भनेर छलफलको क्रम जारी रहेको उनले बताए । आर्थिक स्रोतका लागि प्रदेश, संघ, स्थानीय तह र निजी क्षेत्रको लगानीलाई समेटेर ताल निर्माण गर्ने योजनामा रहेको उनले बताए ।

No description available.

ताल निर्माण भएपछि गोनपा र पानपाको तल्लो फाँटमा बाह्रै महिना सिंचाइको सुविधा हुने गोनपा १० का वडा अध्यक्ष प्रदीप कुँवरले बताए । ताल निर्माण भएपछि दुवै नगरपालिकाको फाँटमा सिंचाईको सुविधा हुने, बोटिङ, जिपलाइन लगायतका पर्यटकीय गतिविधिहरु हुने उनको भनाइ छ । त्यसका लागि पव्लिक, प्राइभेट क्षेत्रले सहकार्य गर्नुपर्ने उनले बताए । सो योजना सम्पन्न भएमा स्थानीयहरुले रोजगार पाउने र छेपेटार बजारलाई पर्यटकीय हबका रुपमा विकास गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्