
सिरानचोकमा सातौँ गैराकप फुटबल प्रतियोगिता हुने
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ६ गैरागाउँमा सातौँ गैराकप फुटबल प्रतियोगिता हुने भएको छ । ‘एकता, विकास, सक्रियता, सातौँ गैरा कप खुल्ला फुटबल प्रतियोगिता भन्ने नारासहित हिमाली तमु युवा क्लवले फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
असोज ९ गतेबाट फुटबल प्रतियोगिता सुरु हुने क्लवका अध्यक्ष सुजन गुरुङले बताए ।
उनका अनुसार प्रतियोगितामा सहभागिता हुने टिमले असोज ९ गते १२ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । यस अघिका वर्षमा पाँच दिनसम्म सो प्रतियोगिता संचालन हुदै आएको बताउदै यो वर्ष पनि टिम सहभागी टिम अनुसार कहिलेसम्म लम्बिन्छ भन्ने थाहा हुने उनले बताए । खेलकुदको माध्यमबाट गाउँको प्रचारप्रसार गर्न र विभिन्न स्थानका युवा खेलाडीहरु बीचको चिनजान गराउन फुटबल प्रतियोगिता संचालन गरिएको उनले जानकारी दिए ।
फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुनेले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने तेस्रो हुने टिमले नगद १० हजारसहित मेडल र प्रमाण पत्र पाउनेछन् ।
प्रतियोगिता भर उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्तालाई पनि ट्रफी र प्रमाणपत्रले सम्मान गर्ने जनाएको छ । हिमाली तमु युवा क्लवले विगत २०७१ साल देखि नै हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोछ ।