| बुधबार, जेष्ठ ९, २०८१

गोरखामा फिल्म हल संचालनमा आउने

गोरखामा अत्याधुनिक प्रविधिसहित सिनेमा हल सञ्चालनमा आउने भएको छ । करिब ७ बर्षदेखि बन्द रहेको ‘गोरखकाली चलचित्र मन्दिर’ लाई अत्याधुनिक प्रविधि र सुविधा सहित सिनेमा हल सञ्चालनमा आउने सञ्चालक मध्यको एक मोहम्मद याकुब मियाँले बताए ।

लामो समयदेखि गोरखाका दर्शक फिल्म हेर्न बाहिरी जिल्ला जानुपरेको बताउँदै जिल्लामै अत्याधुनिक प्रविधि सहितको सिनेमा हल संचालनमा ल्याउने तयारीमा रहेको उनले बताए । गोरखामा सिनेमा हल संचालनमा नहुँदा यहाँका दर्शक चितवन, दमौली, पोखरा, काठमाडौ लगायतका स्थानमा फिल्म हेर्न जाने गर्छन । अब जिल्लाकै एकमात्र चलचित्र हलमा राम्रो साउण्ड सिस्टमसहित चलचित्र संचालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।

गोरखामा गुणस्तरीय सिनेमा हलको माग बढेसँगै नयाँ सेवा सुबिधासहित हल सञ्चालनमा ल्याउन लागेको सञ्चालक मियाँले बताए । उनका अनुसार दुई सय १० सिट क्षमताको यो सिनेमा हलमा आरामदायी सिट हुनुको साथ क्यान्टिनको राम्रो ब्यबस्था हुनेछ ।

हल निर्माणको ९५ प्रतिशत भन्दा बढी काम सकिएको छ । गोरखा, आबुखैरेनी, र मुग्लीन सम्मका दर्शकलाई लक्षित गरी सिनेमा हल सञ्चालनमा ल्याउने तयारीमा रहेको संचालक याकुबले बताए । करिब एक करोड ५० लाख खर्च लागेको यस हलले महिनाको तीन लाख आम्दानी गर्ने अनुमान गरिएको छ । हल चुनाब लगतै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्