| शनिबार, बैशाख २२, २०८१

विश्वविद्यालय अनुदान आयोगद्वारा गोरखा क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ ।

आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले बुधबार एक समारोहका बीच गोरखा क्याम्पसका प्रमुख रामशरण बानियाँलाई सो प्रमाणपत्र प्रदान गरेका हुन् ।

शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगबाट प्रत्यायनकृत गरेको आयोगले जनाएको छ । संस्थागत गुणस्तर परीक्षणका सबै चरणहरु पार गरी प्रत्यायनकृत भएकाले आयोगले बुधबार एक समारोहको आयोजना गरी प्रमाणपत्र प्रदान गरेको जनाइएको छ ।

प्रमाणपत्र हस्तान्तरण समारोहमा सहभागी हुन क्याम्पस संचालक समितिका अध्यक्ष तथा क्याम्पस प्रमुख रामशरण बानियाँ, आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक सञ्जय अधिकारीसहित प्राध्यापक संघ, कर्मचारी संघका प्रतिनिधिहरु र स्वमूल्याङ्न टोली अनुदान आयोग पुगेका थिए ।

२०३५ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस गोरखा क्याम्पसले २०७४ सालदेखि नै क्यूएए प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको थियो । पाँचवर्षपछि गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा सहभागी भई संस्थागत गुणस्तर परीक्षणमा सबै चरण पूरा गरी क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख बानियाँले जानकारी दिए ।

प्रक्रिया सुरु भएपछिको अवधिमा क्याम्पसको शैक्षिक, भौतिक र प्रशासनिक क्षेत्रमा धेरै सुधार भएको उनले बताए । क्यूएए मान्यता प्राप्त गरेसँगै अब क्याम्पसको शैक्षिक गुणस्तरलाई विश्वभरका विश्वविद्यालयहरुले मान्यता दिनेछन् । गोरखा क्याम्पस गोरखाको दोस्रो क्यूएए प्राप्त गर्ने क्याम्पस बनेको छ । यसअघि द्रव्य शाह क्याम्पसले सो क्यूएए प्राप्त गरिसकेको छ ।

क्यूएए के हो ?

क्यूएए (क्वालिटि एसुरेन्स एण्ड एक्रेडिटेशन) गुणस्तर सुनिश्चितता एवं प्रमाणिकरण एउटा प्रक्रिया हो, जहाँ कुनै आधिकारिक निकायले क्याम्पसलगायत उच्च शिक्षामा संलग्न संस्थाहरुको विभिन्न मापदण्डहरुमा गुणस्तर मापन गर्दछ । ती मापदण्ड पूरा गर्ने शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्दछ ।

यो भनेको शैक्षिक गुणस्तरमा वृद्धि गरी अध्ययन अध्यापन कार्यलाई अझ प्रभावकारी र व्यावहारिक बनाउने प्रक्रिया हो । अर्थात क्यूएए प्राप्त क्याम्पसहरुमा गुणस्तरीय पढाइ हुन्छ भन्ने कुराको प्रमाणीकरण हो । नेपालमाा उच्च शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्