| शुक्रबार, बैशाख २१, २०८१

लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सम्पन्न

धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ । मणिकामदेवी माविको कक्षा ११ र १२ मा पर्यटन र पवर्तरोहण विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई गत कात्तिक १६ गतेबाट सुरु भएको तालिम कार्तिक ३० गते सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए ।

पर्वतारोहण र पदयात्राको क्षेत्रमा यहाँका स्थानीयहरुको आकर्षण बढिरहेकाले दक्षता सहितको ट्रेकिङ गाइड उत्पादन गर्नका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन बोर्डको साझेदारीमा ३४ औ ट्रेकिङ गाइड तालिम दिइएको हो ।
ट्रेकिङ गाइड तालिममा पर्यटन, पर्वतारोहण, पदयात्रा पर्यटन लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएको गाइड तालिमका संयोजक तथा प्रशिक्षक हिमाल पण्डितले बताए ।

तालिममा विद्यार्थीहरुलाई उच्चहिमाली क्षेत्रमा अप्ठ्यारो ठाउँमा तल झर्नुपर्दा याङ्करिङ बनाउने तारिका र तलझर्दा गरिने ¥यापेलिङ र बाटो नभएको ठाउँमा डोरीफिक्स गरेर माथि चढ्ने जुमारिङ, कृतिम घर बनाउने तरिका लगायतका विषयमा प्रयोगात्मक रुपमा तालिम दिइएको उनले जानकारी दिए ।

त्यस्तै, ट्रेकिङ जाँदा आइपर्ने समस्या, जलबायु परिवर्तनका असरहरु, पर्यटन क्षेत्रमा ट्रेकिङ गाइडको भूमिका कसरी निर्वाह गर्ने, विदेशी पाहुनालाई कसरी स्वागत सत्कार गर्ने, पर्यटकको सुरक्षा कसरी गर्ने लगायतका कुराहरु तालिममा सिकाइएको उनले बताए ।

भौगोलिक विविधता रहेको नेपालको हिमाली, पहाड, तराईमा भएका धर्म संस्कृतिका बारेमा, हिमाली क्षेत्रमा पदयात्रागर्दा खानापान, लुगाफाटा व्यवस्थापन कसरी गर्ने, दुर्लभ बन्यजन्तु, वनस्पतिका बारेमा जानकारी दिनुका साथै सरकारी राष्ट्रिय निकुञ्चका नियमहरुका बारेमा पनि जानकारी गराएको उनले बताए ।

नेपालीहरुको मौलिक परम्पराहरु र आफनो गाउँठाउँमा भएको रमणीय पर्यटकीय गन्तव्यलाई पर्यटकलाई कसरी जानकारी दिइने लगायतका विषयमा सिकाइएको उनको भनाइ छ । उक्त तालिमपछि लिइएको परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरुलाई पर्यटन बोर्डबाट गाइड लाइसेन्स दिने उनले जानकारी दिए ।

परीक्षामा ५० जना विद्यार्थी सहभागी थिए । तालिमप्राप्त जनशक्तिले विभिन्न ट्रेकिङ एजेन्सीहरुमा काम गर्ने वा आफै पनि ट्रेकिङ कम्पनी खोल्न सक्ने उनको भनाइ छ ।

पढ्दै कमाउदै रोजगार मुलक शिक्षा, जीविकोपार्जन स्वरोजागारमुलक शिक्षालाई जोड दिदै तालिम दिएको प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी दिए । विद्यालयको पढाई सकेपछि रोजगारीमा लाग्न गाइड तालिम दिएको उनको भनाइ छ ।

विद्यार्थीको उत्साहजनक सहभागिता, आवश्यकता, चासोलाई दृष्टिगत गरी गाइड ट्रेनिङ तालिम हरेक वर्ष निरन्तर भइरहेको प्रशिक्षक हिमाल पण्डितले जानकारी दिए । नेपालका प्रसिद्ध पर्यटकीय गन्तव्यहरु जाने पर्यटकहरु लाप्राकको रुट हुदै आउने भएकाले स्थानीयस्तरमा पनि उनीहरु राम्रो काम पाउने सम्भावना रहेको उनको भनाइ छ । उनका अनुसार पर्यटकलाई भ्रमण गराउँदा प्रभावकारी व्यवस्थापन गर्नसक्ने दक्ष ट्रेकिङ गाइड उत्पादन गर्न तालिम दिएको दिएको हो ।

तालिममा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट हिमाल पण्डित र अनिस दाहाल प्रशिक्षकमा रुप खटिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लाप्राकका वडा अध्यक्ष किसान गुरुङ, शिक्षक, कर्मचारी, अभिभावकलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्