
प्रचण्ड र बाबुरामबाट मुख्यमन्त्रीको प्रस्ताव पाएका पाण्डे
गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बिजयी बने । गठबन्धन नगरी अलगअलग उठेको भए पाण्डे प्रतिनिधि सभा गोरखा २ को उम्मेदवार बन्ने चर्चा थियो । गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेपछि पाण्डे सो क्षेत्रको प्रदेशसभाको उम्मेदवार बने ।
चुनावी प्रचारका क्रममा माओवादी अध्यक्ष दाहालले पाण्डेलाई गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा परिचित गराईदिए । धेरै भाषणमा दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पाण्डेलाई संभावित मुख्यमन्त्री भनेर उद्घोष गरे । पाण्डे पनि मूख्यमन्त्रीको दावी गर्ने योजनासहित प्रदेश सभामा चुनाव लड्न राजी भएको उनी निकट स्रोत बताउँछन् ।
गण्डकी प्रदेशभित्र प्रदेश सभामा निर्वाचन जितेकामध्ये पाण्डे शीर्ष नेतामध्ये पर्छन् । गण्डकी प्रदेश कांग्रेसले मुख्यमन्त्री पाउने प्रदेशमा प¥यो भने उनका प्रतिस्पर्धी अरु नभएकाले पनि उनलाई मूख्यमन्त्रीको दौडमा सहज देखिन्छ । त्यसो त पाण्डे कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा निकट रहेकाले पनि उनको संभावना बलियो छ । यसकालागि भने कांग्रेसले प्रदेश भरिको सबै र समानुपातिक परिणाम पनि कुर्नुपर्ने देखिन्छ । गठबन्धन दलको सिट पुगेको खण्डमा गण्डकीमा सरकार बन्न सक्ने आधार बलियो देखिन्छ ।
गोरखा २ (ख) मा बिजयी सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेसका बहालवाला केन्द्रीय सदस्य हुन् । अर्थशास्त्रमा स्नातक गरेका पाण्डे तेह्रौँ र १४ औँ महाधिवेशनमा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भए । उनी यसअघि दुईवर्ष राष्टिूय सभामा संसदीय दलको नेताको रुपमा थिए ।
२०५९ मा नेपाल तरुण दलको महासचिव, २०४९ मा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत भएका थिए । गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङमा जन्मिएका पाण्डे राजनीतिमा निरन्तर सक्रिय रहे । उनी भद्र र शालिन नेताका रुपमा चिनिन्छन् । २०२१ सालमा जन्मिएका उनी २०३५÷०३६ देखि नेपाल विद्यार्थी संघमा आवद्ध भए । २०४१ मा उनी गोरखा काठमाण्डौँ सम्पर्क समितिको संस्थापक अध्यक्ष बने ।
प्रदेश सभामा निर्वाचित भएपछि उनले धुले बाटोलाई स्तरोन्ती गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेका छन् । चेपे र दरौँदी करिडोर आसपासका बाटो सहज बनाउने उनको पहिलो लक्ष्य छ । पूर्वाधारमा जोड दिने, दुर्गम भुगोल भएकाले जनताको जनजीविकालाई सहज बनाउने गरी आफु अघि बढ्ने उनले बताए । ‘घोषणा पत्रमा उल्लेख गरेर अनुसार र जनताको माग, आवस्यकताका आधारमा समन्वय गरेर काम गर्नेछु’, उनले भने ।
मुख्यमन्त्रीको विषयमा भने उनले पार्टी निर्णय गरेपछि सबै कुरा टुङ्गो लाग्ने बताउँदै आफ्नो दावी स्वभाविक रहेको बताए । मतदातालाई धन्यवाद दिँदै उनले भने ‘म जनताको विश्वास टुट्न दिन्न ।’